बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ भन्ने नाराको साथमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित समापन गरिएको छ । लुम्बिनी आध्यात्मिक जागरण उत्सव घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका बिभिन्न दलका शीर्षनेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारीसहित अभियान्ताहरूले सामूहिक रूपमा विभिन्न पाँच बुँदे सङ्कल्प गरेका हुन् ।
जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माले प्रस्ताव गरेको सङ्कल्पपत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेका छन् ।
त्यस्तै संकल्पपत्रमा सांसद तथा जनमतका महामन्त्री चन्दन सिंह, सांसदहरु वासुदेव घिमिरे र सुरेन्द्र पाण्डे, लुम्बिनीका प्रमुख सचिव राधिका अर्याल, प्रशिक्षक एलपी भानु शर्मा र रमेश नेपालले हस्ताक्षर गरेका छन् । संकल्प प्रस्तावमा योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवर्द्धन गरी नागरिकको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म, लिंग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रको रूपमा रुपान्तरित गर्दै नेपाललाई विश्वशान्तिको केन्द्र (वर्ल्ड पीस सेन्टर) को रूपमा विकास गर्ने सङ्कल्प गरिएको छ ।
ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु¥याउने संकल्प गरिएको हो । संकल्पपत्रमा नेपाललाई विश्वशान्तिको केन्द्रको रूपमा विकास गर्ने उल्लेख छ ।नयाँ २०८१ सालको प्रवेशसँगै ध्यान र योगलाई नेपालभर प्रवर्द्धन गर्ने, पूर्वीय संस्कृतिको प्रयोग तथा सम्वर्द्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयमा उपयुक्त पाठ्यक्रम र तालिमका लागि जनशक्ति तयार गर्ने तथा देशभर ध्यान र योग प्रर्वद्धन गर्न सबै सरकारी कार्यालय र पर्यटकीय स्थलमा ध्यान तथा योग पद्धतिको प्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने संकल्प पनि गरिएको छ ।
एक हप्ता सम्म चलेको विराट चक्र विज्ञान तथा वृहत् आध्यात्मिक जागरण कार्यक्रमको समापनको अवसरमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनर्संरचनामा सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताएका थिए।
नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्म प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्र क्षेत्रको अवधारणागत र संरचनागत सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदायमाझ नेपाल शान्तिपूणर् विश्व बन्धुत्वको पक्षमा रहेको सन्देश दिन सबैको सामूहिक प्रयास, प्रतिबद्धता आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने बताए ।
यही चैत १७ गतेदेखि आयोजित विराट चक्र विज्ञान कार्यक्रममा देशभरिका र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत गरी पाँच हजारभन्दा बढी सहभागी रहेको थियो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव जातिको हित र कल्याणका लागि समृद्ध जीवनयापनका लागि योग ध्यान आवश्यक रहेको बताए ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको चरणमा लैजान र सुशासन स्थापनाका लागि नकारात्मक, अराजकता भावना रोक्न जीवन दृष्टिकोणसहित योग ध्यान चलाउनुपर्नेमा जोड दिए । यस खालको कार्यक्रम जीवनको साँचोलाई देशव्यापी बनाउने अभियानको थालनी रहेको बताए । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले योग र ध्यान शरीर विज्ञानको एउटा पाटो रहेकाले शरीरका लागि अत्यावश्यक विषय रहेको बताए ।
नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीमा यस खालको बृहत् कार्यक्रम सफल अभियान र उत्सवको रूपमा जनमानसमा सन्देश प्रवाह भएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जीवन विज्ञानले सबैलाई जोड्ने काम गरिरहेको र यसले आम जनमानसमा जागरणा पैदा भएको बताए ।
व्यक्तिभित्र नैसर्गिक रूपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न ध्यान शिविर केन्द्रीत गरिएको जीवन विज्ञान लुम्बिनी प्रदेश परिषद्का संयोजक केशव खनालले बताए । भगवान गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व–जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाई छ ।
ध्यानकक्षमा नेपालका ७७ बटै जिल्ला सहित विभिन्न १५ मुलुकका नागरिकको उपस्थिती रहेको थियो ।