April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

साकेला गाउँपालिकाले अरुभन्दा पृथक कानून बनाउन खोजिरहेको छ- अध्यक्ष राई

1.4K

साकेला । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९र०८० मा प्राप्त बजेटबाट निर्मित चार कोठे पक्की विद्यालय भवन उद्घाटन गरिएको छ । साकेला गाउँपालिका-५ मात्तिमबिर्तामा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्मित चार कोठे पक्की भवन सोमबार उक्त गाउँपालिकाका प्रमुख रवि प्रकाश राईले रिवन काटेर उद्घघाटन गरेका हुन् ।

विद्यालयमा आयोजित कार्यक्रममा भवन उद्घाटनसँगै विद्यालयको वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरिएको छ । उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत ५० लाख रुपैंया र ७ लाख ५८ हजार ७७५ रुपैंया बराबरको जनश्रमदान मार्फत भवन निर्माण गरिएको हो ।

यसैबीच, भवन उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै गाउँपालिका प्रमुख राईले साकेला गाउँपालिकाले देखेको समृद्धिको सपना साकार पार्न कोही कसैलाई जात, धर्म, लिङ्ग, वर्ग, पुस्ता, भूगोलको आधारमा विभेद नगरी साकेला गाउँपालिका जनताको सरकार हुने उद्घघोषका साथ सबैलाई समान व्यवहार गरेर काम गरिरहेको बताए ।

Advertisement

उनले भने, ‘यो देशमा कानून अन्धो छ, तर हाम्रो देशको कानूनले आँखा देख्छ, ठूलो मान्छे देख्छ, पैसावाल मान्छे देख्छ, आफ्नो मान्छेलाई देख्छ, पैसावाललाई देख्छ र दुष्मन पराईलाई पनि देख्छ अनि आफ्नालाई जोगाएर पराईलाई कारवाही गर्ने परम्परा यो देशमा छ तर साकेला गाउँपालिकाले अरुभन्दा पृथक कानून बनाउन खोजिरहेको छ ।’

उनले पालिकाभित्र निर्माण भईरहेका हरेक भौतिक संरचनालाई गुणस्तरीय रुपमा निर्माण गर्नका लागि संवेदनशिल भएर लागि परिरहेको बताउदै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनको हरेक क्षेत्रमा सम्मान व्यवहारका साथ बजेट व्यवस्थापन गरि काम गरिरहेको बताए ।

साकेला गाउँपालिकाको गौरवको आयोजना मानिएको तावाभञ्ज्याङ क्षेत्रमा निर्माण गरिने तावाताल, साँस्कृतिक बस्ती र धार्मिक पार्कलाई बन्न नदिन अनेकौं षड्यन्त्र भईरहेको उनले बताए । सो क्षेत्रमा ताल बनाउन चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट २ करोड बजेट विनियोजन भएको थियो । उक्त मन्त्रालयबाट विनियोजन भएको रकमबाट ताल निर्माण गर्न नपाईने साथै वातावरणीय प्रभाव मूल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन समेत नभएपछि उक्त बजेटलाई बहुवर्षिय योजना बनाई ताल निर्माणसँगै पर्यटन पूर्वाधार निर्माण गर्नेगरी ६ करोड रुपैंयाको टेण्डर हुनै लाग्दा विकास रोक्ने प्रयास भएको बताए ।

‘केही व्यक्तिहरु विकास रोक्न मन्त्रालयसम्म डेलिगेसन नै पुग्नुभएको रहेछ । आएको विकास रोक्नु भनेको गाउँपालिकालाई विकासबाट वर्षौं पछिसम्म धकेल्नु हो । तत्काल टेण्डर खुलाएर काम सुरु नगरेमा गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा आगामी दिनमा बजेट व्यवस्थापन गर्न कठिनाई हुन्छ,’उनले भने ।

कार्यक्रममा गाउँपालिकाका पूर्व उपाध्यक्ष सरीता खड्का, साकेला माध्यमिक विद्यालय रतन्छाका प्रधानाध्यापक शिवेन्द्र कुमार राई, साकेला गाउँपालिका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन न्यौपाने खत्री, १ नम्बर वडाका अध्यक्ष हेमन राई, पूर्व वडा अध्यक्षहरु वीरमल राई, कृष्णप्रसाद भट्टराई लगायतले तावा भञ्ज्याङमा तावातालसँगै अन्य पर्यटन पूर्वाधारहरु निर्माण भए साकेलाको आर्थिक समृद्धिको ढोका खुल्ने धारणा राख्दै त्यहाँ हुने विकास कुनै व्यक्ति विशेषको नभई समग्र पालिकाको सम्पति हुने बताए ।

धार्मिक पार्क सहितको साँस्कृतिक बस्ती र तावाताल निर्माण गर्नेगरि आएको विकासे बजेटलाई रोक्न खोज्ने जो कोही व्यक्ति तथा समूहलाई गाउँपालिकाबासी नागरिकले नछाड्ने चेतावनी समेत वक्ताहरुले दिएका छन् ।

आफ्नो भनाई राख्ने क्रममा साकेला माविका प्रअ शिवेन्द्र कुमार राईले भने, ‘तावाताल साकेला गाउँपालिकाको प्रतिष्ठा बन्नुपर्छ, कुनै व्यक्ति कुनै दलको सम्पती बन्नुहुँदैन । विकास र समृद्धिको आधारको कुरालाई लिएर कसैले राजनीति गर्छ भने यही विषयलाई एजेण्डा बनाएर मिसन-८४ मा नयाँ नेता जन्माउनु पर्ने अवस्था नबनोस् ।’ आएको विकासको कुरामा पूर्वाग्राही नबनी गाउँपालिकाको साझा विषयमा सबैले हातेमालो गरेर अघि बढ्न प्रअ राईको आग्रह छ ।

चालु आर्थिक वर्ष सकिन केही महिनामात्र बाँकी हुँदासम्म हालसम्म सो क्षेत्रमा निर्माण हुने पर्यटन पूर्वाधारसँगै ताल निर्माणको लागि बोलपत्र आह्वान हुन सकेको छैन । बहुवर्षीय योजना मार्फत ६ करोड रुपैंया बराबरको ठेक्का अन्तिम चरणमा पुगेर रोकिएको हो ।

तावाभञ्ज्याङ क्षेत्रमा रहेको मुन्धुम ट्रेल र नेकपा माओवादीले निर्माण गरेको सहीद पार्क हराउन लागेको भन्दै केही व्यक्तिहरु मन्त्रालय समक्ष डेलिगेसन गएको मन्त्रालय श्रोतको भनाई छ । साकेला गाउँपालिकाले भने मुन्धुम ट्रेल र सो सहीद पार्कलाई संरक्षण गरि अन्य स्थानहरुमा धार्मिक पार्क र साँस्कृतिक गाउँ बनाउने डिपिआर तयार गरेको छ ।