सिलिगुडी । अर्जुन शर्मा निरौलाको कवितासङ्ग्रह ‘आस्थाको तप्काना’ विमोचित भएको छ । सकुन्तला राई प्रकाशन सिलिगुडीको आयोजनामा आइतबार फाराबारी नेपाली बस्ती सिलगडीको बराल बगैँचामा पुस्तक विमोचन गरिएको हो ।
भारतीय नेपाली साहित्यका विशिष्ट साहित्यकार तथा अनुवादक डा. गोकुल सिन्हाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको प्रमुख आतिथ्यता रहेको थियो भने वरिष्ठ साहित्यकारहरू युवराज काफ्ले, ज्ञानेन्द्र खतिवडा, मोहन ठकुरी, डा. जीवन राणा, प्रा.डा. कृष्णराज घतानी, ग्याल्पो लामा, डा साङ्मु लेप्चा, शीला लामा, रश्मी राई हुनुहुन्थ्यो । त्यसैगरी जीतबहादुर सुनार, जय क्याक्टस, मणिकुमार प्रधान, मीलन रूचाल, हरी अधिकारी, गीताश्री शर्मा, जीनर घतानी, दीप प्रधान, सरद छेत्री, गणेश प्रधान, राहुल राई बोगी विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।
प्रकाशनकी सचिव देविका मंग्राती राईको सञ्चालन रहेको कार्यक्रममा मीना लामा राईले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा पुस्तकको समिक्षा साथै सृजना वाचन पनि भएको थियो । सरोजनी देवान, सरोजा बान्तावा, निरा सुब्बा नेचाली, तारा छेत्री, कमला तामाङ, लुइस बिष्ट, मोहन गौतम, अनिल विद्रोही लगायतले कार्यक्रममा सुन्दर रचनाहरू सुनाएका थिए ।
१ सय ५० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा सकुन्तला राई प्रकाशनको तर्फबाट सुरेन्द्र लिम्बू परदेशी र डा गोकुल सिन्हालाई सम्मान समर्पण गरिएको थियो । त्यसैगरी प्रमुख अतिथिको बाहुलीबाट विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको ‘कृष्णप्रकाश श्रेष्ठ स्मृति अनुवाद सम्मान’ वरिष्ठ साहित्यकार तथा अनुवादक डा गोकुल सिन्हालाई हस्तान्तरण पनि गरिएको थियो ।
विभिन्न विद्वानहरूको सारगर्भित मन्तव्यसहित अन्त्यमा सभाध्यक्ष डा सिन्हाद्वारा कार्यक्रम समापन गरिएको थियो ।