काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल केन्द्रीय समितिको आयोजनामा बृहत् सांस्कृतिक साँझ आयोजना हुनेभएको छ । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा महासंघले ‘शुभकामना सांस्कृतिक साँझ–२०८०’ आयोजना गर्न लागेको हो । महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीका अनुसार महासंघको इतिहासमा आठ वर्षपछि यसप्रकारको बृहत् सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
गीतकार तथा गायकसमेत रहेका अध्यक्ष अधिकारीले भने– “नेपाली मौलिक संस्कृति तथा जनवादी गीत–सङ्गीतको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुने उक्त बृहत् सांस्कृतिक साँझमा अग्रज तथा समकालीन पुस्ताका ख्याति प्राप्त जनकलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ ।”
महासंघका कार्यबाहक महासचिव तथा सांस्कृतिक साँझका साङ्गीतिक कार्यक्रम संयोजक सङ्गीतकार अशोक राईले पुराना जनगीत–सङ्गीतका साथमा मौलिक नेपाली संस्कार, संस्कृति र प्रकृति झल्किने हिमाल, पहाड र तराईमधेशमा प्रचलित सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति हुने बताए ।
पदम रोकायाको व्यावस्थापन र राम वसस्थीको संयोजकत्वमा हुने उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने छ ।
उक्त बृहत् शुभकामना सांस्कृतिक साँझ चैत ३० गते दिउँसो ३ बजेदेखि सुरु हुने महासंघले जानकारी दिएको छ ।