लन्डन । भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न बुधबार भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगिएको छ ।लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भएको यसपटकको मन्त्रिस्तरीय वार्ता पेन्सनमा केन्द्रित भएपनि कुनै निचोड ननिस्किएको बताइएको छ ।
विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको उक्त बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलको संक्षिप्त समीक्षा गर्दै मुख्य एजेन्डा पेन्सनका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।
वार्तामा नेपालको तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाहरूको समान पेन्सनको मुख्य माग पुष्टि गर्ने विभिन्न तर्क तथा प्रमाणहरू पेस गर्दै नेपाल र संयुक्त अधिराज्यबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गरी यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका बाँकी मागहरू मुख्यतः पेन्सनका विषयमा दीर्घकालीन समाधान खोज्न अनुरोध गरेका थिए ।
बेलायती रक्षा राज्यमन्त्री एन्ड्रिउ मुरिसनले पेन्सनको विषयमा यथोचित समाधानका लागि के गर्न सकिन्छ भन्नेबारे उपयुक्त सम्भावनाहरू प्रस्ताव गर्न र त्यस विषयमा आगामी बैठकमा छलफल गर्न तयार रहेको जानकारी गराएका थिए ।
उनले नेपाल र बेलायतबीच ऐतिहासिक एवं घनिष्ठ सम्बन्धको बारेमा उल्लेख गर्दै भूपू गोर्खाहरूले बेलायती सेनामा पुर्याएको योगदानको कदर गर्ने बताए ।
वार्तामा सहभागी गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले प्रमुख मुद्दा पेन्सनमा घनिभूत छलफल भएको हुँदा आउँदो वार्तामा यसले निर्णायक बाटो लिने आशा गरिएको बताए । यस्तै, अनसनकर्ता ज्ञानराज राईले राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल सरकार र गोर्खाहरुको तर्फबाट तार्किक रुपमा राखेको र अर्को पटक वार्ता सफल हुने बताए।
वार्तामा सहभागी गेसो उपसभापति धर्म तामाङले वार्ता उपलब्धिपूर्ण नबनेको तर छलफल निरन्तर राख्ने सहमति भएको बताए ।