भक्तपुर । अनलाइन पटके भुक्तानी सेवाको शुभारम्भ भएको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइन पटके भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।
सेवाको सुभारम्भ गर्दै उनले पटके भुक्तानीबाट व्यवसायीहरुले वर्षाैंदेखिको अन्यौलता र अव्यवहारिक झन्झटमुक्त हुने बताए । अनलाइन मार्फत भुक्तानी हुने भएपछि सेवाग्राहीहरुलाई सहज हुनेमा विस्वास ब्यक्त गर्दै मन्त्री लम्सालले अस्थायी बाटो इजाजत पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात व्यवस्था कार्यालय पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न र यातायात व्यवस्था सेवा कार्यालयलाई डिजिटलाइजेसन गर्न ६÷७ महिना अगाडिदेखि काम थालिएकोमा अबदेखि घरबाट नै सेवाग्राहीले सेवा पाउने बताएका हुन् ।
मन्त्री लम्सालको थप बताए, ‘यातायात व्यवस्था कार्यालयलाई सेवाग्राही मैत्री, पारदर्शी साथै व्यवस्थित बनाउन र विशेषगरी रातिको समयमा पटके इजाजतको सेवा लिने र दिने बीच मानवीय दृष्टीले पनि सहज नहुन सक्छ, यस्तो अवस्थामा अनलाइनले सेवाग्राही र कर्मचारी दुबैलाई सजिलो हुने छ ।’ उनले घरमै बसेर सेवाग्राहीले अस्थायी बाटो इजाजत पटकेका लागि फारम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको बताए ।
अनलाइन अस्थायी बाटो इजाजत पटके शुभारम्भ कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले अनलाइनबाट पटके पाउने भएपछि कार्यालयमा भीड कम हुने र यसले सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बिश्वास व्यक्त गरिन् ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा भएको कार्यक्रम मन्त्रालयका सचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको छ ।
त्यसैगरी उपत्यका ट्राफिक कार्यालयका महाशाखा प्रमुख एवं डिआइजी पोषराज पोखरेलले सहज ढंगले कर तिर्न पाउने जनताको अधिकार भएको बताए ।
कार्यक्रममा यातायात व्यवस्था कार्यालयका प्रमुखहरु डण्ड बस्नेत, नेत्र भट्टराई, बिमल भट्टराई, शिवप्रसाद निरौला, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायत यातायात सम्बद्ध व्यवसायी संघ संगठनका प्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।
अनलाइन प्रणाली मार्फत सेवाग्राहीले आफ्नो अनुकूल अस्थायी बाटो इजाजत पटके लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्नेछन र सो बापतको बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्नेछन् । यातायात व्यवस्था कार्यालयबाट हाल प्रवाह भइरहेको अस्थायी पटके इजाजत सेवालाई मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मार्फत जारी हुने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।