April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कवि विमल वैद्यको कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण

1.1K

इलाम । कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएको छ । इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा ( पुरानो दरवार ) आइतबार इलाम नगरका विशिष्ट नागरिक पुर्व क्याम्पस प्रमुख युद्ध प्रसाद वैद्यको प्रमुख आतिथ्यता र धर्म गौतमको अध्यक्षतामा लोकार्पण गरिएको हो ।

इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा भाषा विद तथा लेखक केदार शर्मा , कवि तथा समिक्षक प्रकाश थाम्सुहाङले कृति माथी चर्चा गरे ।

थाम्सुहाङ्ले कवि विमल वैद्यले ४० बर्ष देखि निरन्तर सिर्जनामा लागिरहेकोले स्थापित सर्जक भएको बताउनु भयो । वैद्यका कृति नेपाली साहित्यको लागि गर्व गर्न लायक भएको बताए ।

Advertisement

भाषा विद तथा लेखक केदार शर्माले कवि वैद्यले आफ्ना सिर्जनामा शब्दलाई नधुट्याइकन दिनुपर्ने कुरा दिने गरेकोले यस कृतिमा समेत अझ परिमार्जन भएको बताउनु भयो । लेखनमा वैचारिक अडान हुन आवश्यक रहेको समेत शर्माले बताए ।
कार्यक्रममा प्राज्ञ कोमल निरौला, इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस अघि वैद्यको कविताकृति काठमाडौमा गत पुस २८ गते सार्वजनिक गरिएको थियो । पेज टर्नरले बजारमा ल्याएको ३४ कविता संग्रहित ‘युगको तटमा उभिएर’ कृतिको मूल्य २७५ रुपैयाँ रहेको छ ।

साहित्यमा शब्द, शैली र उनका स्वभावले वैद्यको चर्चा इलाममा मात्रै नभई देशभर र छिमेकी देश भारत दार्जिलिङ, सिक्किम, मिरिक लगायत नेपाली भाषी रहेका स्थानमा समेत छ । करिब ४० बर्ष देखि इलाममा रहेर सिर्जनामा लागिरहेका उनी देश तथा सिमा पारीका विभिन्न साहित्यिक कार्यक्रममा ब्यस्त हुन्छ्न् । मोफसलमा बसेर ख्याति कमाइरहेका वैद्यको यश अघि ‘आकास छुन खोज्ने मनहरू’, ‘समय र सपनाहरू’, ‘अक्षर सिम्फोनी’ बजारमा आइसकेका छन् । प्रष्ट बिचार भएका कवि वैद्यले तीन सय कविता लेखिसकेका छन् । उनका कवितासंग्रह, संस्मरण र मुक्त लेखनले नेपाली साहित्यको भणडार वृद्धि भएको छ ।