काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालय पुगेर आईसीसीका अध्यक्ष बार्कले खेलकुद मन्त्रीसँग भेट गरेका हुन् ।
भेटमा मन्त्री श्रेष्ठ र अध्यक्ष बार्कवीच नेपाली क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको बताइएको छ । नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष बार्कलेले खेलकुदमन्त्रीसँग बताएका थिए ।
मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए ।
चारदिने नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका छन् ।