काठमाडौं । साहित्यकार परशु प्रधानको निधन भएको छ । प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
प्रधानको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले निवासमै राखिएको छ । उनको मंगलबार बिहान साढे ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
कथा लेखनमा विशिष्ट छवि बनाएका प्रधान वि.सं.२००० सालमा भोजपुरमा जन्मिएका हुन् । उनको पहिलो रचना ‘हाँसेकी ती चन्द्रमा’ २०१६ सालमा प्रकाशित भएको थियो ।
उनका ‘बक्ररेखा’, ‘फेरि आक्रमण’, ‘यौटा अर्को दन्त्यकथा’, ‘असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य’, ‘यौटा क्रान्तिपुरुषको जन्म’ लगायत कथासंग्रह प्रकाशित छन् ।
बाल कथाकासमेत सशक्त हस्ताक्षर रहेका प्रधानका ‘नानीको कथा’, ‘सुनको छाती’, ‘विश्व परिकथा’, ‘बोल्ने चरो’ लगायत एकदर्जन कथासंग्रह प्रकाशित छन् ।
उनले निबन्ध, समीक्षामा पनि कलम चलाउने उनी राष्ट्रिय समाचार समितिको जागिरे पनि थिए । पछि उनी साझा प्रकाशनको जागिरे भए । २०२६ सालदेखि उनी प्रशासन सेवामा प्रविष्ट गरेका थिए । २०५१ सालमा प्रशासन सेवाबाट निवृत्त भएका थिए ।