काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैयौं नेपालीहरूले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति गरिरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले नेपालीहरुले विश्वस्तरमा चिनिने गरी पनि काम गरिरहेको बताएका हुन् ।
उनले विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेको र त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति गरेको उल्लेख गर्दै भने,’त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हो । सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी बिकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौं।’