लन्डन । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनककी सासूलाई भारतीय संसद्को माथिल्लो सदनकी सदस्यका रूपमा मनोनयन गरिएको छ ।
भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा अधिकांश सदस्यहरू निर्वाचित हुन्छन् । यद्यपि उक्त सदनमा समाजका गन्यमान्य व्यक्तिमध्येबाट १२ जना सदस्यलाई राष्ट्रपतिले ६ वर्षका लागि मनोनयन गर्ने व्यवस्था पनि छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको मनोनयनलाई “नारी शक्ति”को उदाहरण भएको जनाएका छन् । मोदीले यसले भारतको लक्ष्य निर्धारणका निम्ति महिलाको शक्ति र क्षमताको उदाहरण प्रस्तुत गर्ने पनि उल्लेख गरेका छन ्। मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै मूर्तिको “सामाजिक कार्य, परोपकार र शिक्षा लगायतका विविध क्षेत्रमा व्यापक र प्रेरणादायी योगदान रहेको” जनाएका छन् ।
इन्जिनियरिङ अध्ययन गरेकी मूर्तिले मोदीलाई धन्यवाद दिँदै “देशको सेवा गर्ने अवसरको लागि कृतज्ञ भएको” बताएकी छन् । बीबीसीमा उल्लेख भएअनुसार उनले द हिन्दू पत्रिकासँग भनेकी छन्, “मनोनयनमा मेरो नाम एउटा सुखद आश्चर्यका रूपमा आएको छ र अन्तर्राष्ट्रिय महिला दिवसका दिन यस्तो सम्मान पाउँदा म दोबर उत्साहित भएकी छु । संसदीय कार्यकालका लागि मैले योजनाहरू बनाउन बाँकी छ । म यो मञ्चलाई भारतका जनताका निम्ति काम गर्न उपयोग गर्नेछु ।”
बीबीसीका अनुसार ७३ वर्षीया सुधा मूर्तिले प्रविधि कम्पनी इन्फोसिसका सह–संस्थापक तथा अर्बपति एनआर नारायण मूर्तिसँग बिहे गरेकी थिइन् । उनकी छोरी अक्षताले सुनकसँग सन् २००९ मा बिहे गरेकी हुन् । सुनक सन् २०२२ देखि ब्रिटेनका प्रधानमन्त्री छन् ।
फोर्ब्स पत्रिकाका अनुसार मूर्तिका पतिको अनुमानित कुल सम्पत्ति ४ अर्ब ७० करोड अमेरिकी डलर बराबर छ ।