जिल्ला कारागार भरतपुरमा रहेका महिला कैदीबन्दी र उनीहरुको साथमा रहेका बालबालिकाको बिहीबार स्वास्थ्य परीक्षण तथा फलफूल वितरण गरिएको छ । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मानवअधिकार संरक्षण मञ्च चितवनले सो कार्यक्रम आयोजना गरेको हो ।
भरतपुर अस्पतालको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा ४० जना महिला र ६ जना बालबालिकाको स्वास्थ्य परीक्षण तथा उनीहरुलाई पौष्टिक आहारको रुपमा फलफूल वितरण गरिएको मञ्चकी सचिव ज्वाला पुरी वनले जानकारी दिइन् ।
भरतपुर अस्पतालका डा. राजु मौर्य, डा. उमेश थापा र डा. रितु यादवले महिलाहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा स्वास्थ्य परीक्षण गरिएका महिलाहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
मानवअधिकार संरक्षण मञ्चका केन्द्रीय सचिव कपिल ज्ञवाली प्रमुखअतिथि रहेको सो कार्यक्रममा मञ्चका जिल्ला अध्यक्ष डा. यमबहादुर विकले अधिकारका लागि महिला दिवस मनाउँदा कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई बेवास्ता गर्दा अन्याय हुने भन्दै उनीहरुको स्वास्थ्य सुरक्षाका लागि कारागारमै स्वास्थ्य परीक्षण गरिएको बताए ।
उद्घाटन कार्यक्रममा अधिवक्ता कल्पना उप्रेती, कारागार प्रमुख कमलप्रसाद आचार्यले मन्तव्य राखेका थिए । मञ्चका अध्यक्ष डा. यम बहादुर बिकेको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव ज्वाला पुरी वनले सञ्चालन गरेकी थिइन् ।