लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भव्य रुपमा ११४ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । एनआरएनएले मंगलबार साँझ अल्डरसटस्थित एम्पायर हलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यतामा नारी दिवस मनाएको हो ।
एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त कार्यक्रममा बोल्दै मेयर दाहालले नेपाली समाजमा पनि महिलामाथि विगत जस्तो भेदभाव नरहेको र महिलाहरु सशक्त रुपमा अगाडि बढ्दै गएको बताइन् ।
आफ्नो महानगरले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मनाउने घोषणा गरेको जानकारी दिँदै मेयर दाहालले बेलायतवासी नेपालीलाई भरतपुर घुम्न आउन अनुरोधसमेत गरिन् ।
छोटो समय बाबजुद पनि कार्यक्रममा सहभागी भइदिएकामा एनआरएनए अध्यक्ष गुरुङले मेयर दाहाल, उपनियोग प्रमुख खनालसहित सबैप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए आइसीसी पूर्व अध्यक्ष कुल आचार्य, उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए यूके महिला संयोजक रेजिना गुरुङ लगायतले विश्वभरका नारीहरूप्रति शुभकामना दिएका थिए ।
कार्यक्रममा एनआरएनए युरोप महिला संयोजक प्रसुना कँडेल, एनआरएनए आइसीसी सह–कोषाध्यक्ष अमृता थापा (कञ्चन) लगायतको सहभागिता थियो ।
महासचिव गोविन्द खरेलले संचालन गरेको कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष सपना खनियाले स्वागत मन्तव्य राखेकी थिइन् । सो अवसरमा केक काटेर एनआरएनए यूके स्थापनाको १९औं वार्षिकोत्सव पनि मनाइएको थियो ।