काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न व्यापक साइबर सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले बिहीबार गरेको ‘अनलाइनमा महिला सुरक्षा’ विषयक कार्यक्रममा बोल्दै मन्त्री शर्माले भनिन्, ‘हामीले भौतिक दुनियाँमा जसरी मानवीय मर्यादा र सामाजिक सौहार्दता कायम गरेर समाजलाई व्यवस्थित गरेका छौँ, भर्जुचल दुनियाँमा पनि त्यसरी नै मानवीय मर्यादा र सामाजिक सौहार्दता कायम गर्नतिर जोड दिनुपर्छ । त्यसका लागि जनस्तरसम्म व्यापक मात्रामा साइबर सचेतना र सुरक्षाका कार्यक्रम लिएर जानु आवश्यक छ ।’
त्यसका लागि तीन तहकै सरकार, विद्यालयहरुसहित सबै सार्वजनिक क्षेत्र र आम सचेत नागरिक साइबर सुरक्षाको क्षेत्रमा गम्भीर रुपमा लाग्नुपर्ने उनले बताएकी हुन् ।
मन्त्री शर्माले पछिल्ला वर्षहरुमा साइबर अपराधका घटना बढ्दै गएको र त्यसमा बढी महिला पीडित हुने गरेको बताइन् । सयौं वर्षदेखि सामाजिक सोंच र संरचनामा रहेको लैंगिक विभेदको प्रभाव अनलाइनको माध्यमबाट अझ बढी विस्तार भइरहेको उनको भनाइ थियो । मन्त्री शर्माले भनिन्, ‘महिला हिंसाका स्वरुप फेरिएका छन्, अब यसको न्यूनीकरणका लागि सचेतनाका स्वरुप पनि बदल्नुपर्छ । सूचना प्रविधिको दुरुपयोग रोक्न तदअनुरुप कानुनी र संरचनात्मक व्यवस्था पनि आवश्यक छ । यसका लागि सरकार गम्भीरतापूर्वक लागेको छ ।’