April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

हामी समृद्ध साकेला बनाउने अभियानमा लागिरहेका छौं: अध्यक्ष राई

1.4K

साकेला । धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न लागिएको खोटाङको तावाभञ्ज्याङ क्षेत्रमा निर्माण हुने तावाताल र साँस्कृतिक भिलेजको विरुद्धमा जिम्मेवार ओहदामा रहेका व्यक्तिहरु नै लागेर असफल बनाउन खोजिरहेको साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताए ।

साकेला गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख श्रोतको रुपमा विकास गर्न लागिएको तावाताल र सो क्षेत्रमा निर्माण हुन लागेको विभिन्न जातजातीको धर्म र संस्कृतिसँग सम्बन्धि संरचनाहरुमा केही व्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि असफल बनाउन लागि परेको अध्यक्ष राईले उल्लेख गरे ।

शिक्षा विकास तथा समन्वय इकाई खोटाङ र साकेला गाउँपालिकास्थित शिक्षा शाखाको आयोजनामा बुधबारदेखि गाउँपालिकाको सामुदायिक हलमा आयोजित पाठ्यक्रम प्रवोधिकरण तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष राईले सो कुरा बताएका हुन् ।

Advertisement

अध्यक्ष राईले भने, ‘हामी साकेलाको भविष्य निर्माण गरी समृद्ध साकेला बनाउने अभियानमा लागिरहेका छौं, तर केही व्यक्तिहरु विकास हुन नदिन हात धोएर लागिरहेका छन् । आएको बजेट रोक्न खोजिरहेका छन् । त्यस्ता विकास विरोधीहरुलाई परास्त गर्दै समृद्ध साकेला निर्माण गर्न तमाम साकेलाबासी सचेत नागरिक एकढिक्का भएर लागि पर्न अनुराध छ ।’

तावाभञ्ज्याङलाई पर्यटकीय रुपमा विकास गर्न तावाताल र सो आसपासमा गाउँपालिकाभित्र रहेका सबै जातजातिको धर्म र सँस्कृति झल्कने साँस्कृतिक भिलेज र पार्क निर्माणको डिपिआर बन्दै गरेको अध्यक्ष राईले बताए ।

साकेला गाउँपालिको भविष्य सोच्ने विशिष्ट व्यक्तित्वहरुको प्रयासबाट गाउँपालिका यस वर्ष थुप्रै विकासे बजेट आएको छ, तावाताल निर्माणको लागि समेत केही बजेट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष राईले तावाभञ्ज्याङमा साँस्कृतिक भिलेज सहित धार्मिक पार्क र ताल निर्माण भएमा साकेला गाउँपालिका आर्थिक रुपमा समृद्ध बनाउन सकिने अध्यक्ष राईले बताए । गाउँपालिकाक्षेत्रभित्र हुने हरेक विकास निर्माणको कार्यलाई रोक्ने अवरोध गर्ने भन्दा विकासमा हातेमालो गरेर समृद्ध साकेला निर्माण गर्ने अभियानमा हातेमालो गरि अघि बढ्न सबै पक्षलाई अध्यक्ष राईले आग्रह गरे ।

अध्यक्ष राईले साकेला गाउँपालिकाले अन्य स्थानीय तहहरुभन्दा पृथक ढंगबाट काम गरिरहेको बताउँदै सबै पक्षको सहयोगले मात्र यहाँको शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, सरसफाई लगायत समग्र क्षेत्रमा उत्कृष्ट काम हुने बताए । उनले विद्यालय मर्ज गरेर, शिक्षकलाई सेवा सुविधा थपेर, भौतिक पूर्वाधार निर्माण गरेरमात्र शैक्षिक गुणस्तरमा वृद्धि नहुने बताउँदै प्रयोगात्मक, व्यवहारिक र नैतिक शिक्षाको सुरुवात गर्नुपर्ने कुरामा जोड दिए ।

कक्षा ५, ८ र १० मा अध्यापन गराउँदै आएका शिक्षक शिक्षिकाको क्षमता विकास गराउने उद्देश्यका साथ सञ्चालन गरिएको पाठ्यक्रम प्रवोधिकरण तालिममा ९० जना भन्दा बढी शिक्षक–शिक्षकाहरुको सहभागिता रहेको छ । जसमा सरस्वती मावि मात्तिमका प्रध्यानाध्यापक सितल राईले अंग्रेजी, सोही माविका शिक्षक राजेन्द्र श्रेष्ठले गणित र धन बहादुर रोकायले सामाजिक विषयमा प्रवोधिकरण गरिरहनुभएको छ भने सिद्देश्वरी माविका शिक्षक महेश खत्रीले विज्ञान तथा सोही माविका शिक्षिका उत्तरा राईले नेपाली विषयको प्रवोधिकरण गरिरहनुभएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले जानकारी दिनुभयो । तालिम भोली बिहीबार समापन हुने बताईएको छ ।