April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

साकेला गाउँपालिकामा काठ बोक्ने ट्रक प्रवेशमा रोक, प्रवेश गरे २० हजार जरिवाना गरिने

2.8K

साकेला । काठ बोक्नका लागि प्रयोग हुँदै आएको २१ टन क्षमताको दश चक्के ट्रकलाई साकेला गाउँपालिका प्रवेशमा रोक लगाईएको छ । गाउँपालिका भित्र निर्माण भएको मुख्य सडक तथा शाखा सडकहरु बिगारिरहेको निष्कर्ष निकाल्दै आईतबार बसेको कार्यपालिका बैठकले २१ टन क्षमताको दश चक्के र १५ टन क्षमताको छ चक्के ट्रक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो

निर्णयको उलंङ्घन गरि जबरजस्ती गाउँपालिकाभित्र प्रवेश गरेमा २० हजार रुपैंया जरिवाना गर्ने निर्णय समेत कार्यपालिका वैठकले गरेको छ । निर्णयमा भनिएको छ –२१ टन क्षमताको दश चक्के मालबाहक ट्रक यस गाउँपालिकाभित्र प्रवेश गर्न पूर्ण रुपमा प्रतिबन्ध गर्ने साथै हालसम्म कटान गरि राखिएको काठ १५ टन क्षमताको छ चक्के ट्रकबाट सम्बन्धित वडा कार्यालयबाट अनुमति लिएर निकासा गरिसक्ने र त्यस पश्चात सो ट्रकलाई समेत प्रवेश निषेध गरिनेछ ।

त्यस्तै, काठ निकासीको क्रममा भत्किएका सडक, पर्खाल, नाली लगायतका संरचनाहरुको क्षतिपूर्ती प्राविधिक स्टिमेटका आधारमा व्यवसायिहरुबाट असुल उपर गरिने समेत वैठकले निर्णय गरेको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले गाउँपालिकाभित्रका सडक ठूलाठूला क्षमता भएका ट्रकले क्षतविक्षत बनाउन सुरु गरेपछि सडक बचाउन यस्तो निर्णय गर्नुपरेको बताए । उनले भने, ‘दुईचार हजार कर उठाउने लोभले करोडौं करोड लगानी गरेर निर्माण गरेका सडकहरु भत्काउन दिनु भएन । यसरी बिगारिएका सडक पुन निर्माण गर्न राज्यको करोडौं खर्च हुन्छ । राज्यको करोडौं खर्च हुनबाट जोगाउनका लागि यस्ता बढी क्षमता भएका सवारी साधन प्रवेश गर्न रोक लगाईएको हो ।’

अहिले साकेला गाउँपालिकाको वडा नम्बर ३ खिदिमा, वडा नम्बर २ रतन्छा र वडा नम्बर १ बाँझेच्यानडाँडाबाट उत्तिस, चिलाउने, पात्ले लगायतका रुख निकासी गर्नका लागि ठूला ठूला मालबाहक ट्रकहरु गाउँपालिकाभित्र प्रवेश गर्ने गरेको थियो ।