पाँचथर । राजनीतिक तथा साहित्यकार एवम् समाजसेवी स्वर्गीय अमरकुमार नेम्बाङ स्मृति साहित्य सम्मानबाट कवि बिमला तुम्खेवा र पत्रकार गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन् । उनीहरुलाई पाँचथरमा आयाेजित नेम्वाङकाे स्मृति कार्यक्रममा पुरस्कारसहित सम्मान गरेको हो ।
उनीहरुलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको हो ।
पुरस्कृत स्रष्टाद्वय तुम्खेवा र बाँस्कोटालाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले कदर पत्रसहित नगद पुरस्कार वितरण गरे ।
पुरस्कृत तुम्खेवा सञ्चारिका समूह नेपालकी अध्यक्ष हुन् भने बाँस्कोटा पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुन् ।
नेम्बाङको फाल्गुनन्द गाउँपालिका अध्यक्ष रहेकै बखत २०७५ साल माघ २६ गते निधन भएको थियो ।
उनको निधन पश्चात परिवारका सदस्यले स्थापना गरेको अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष स्मृति दिवसको अवसर पारेर स्रष्टा सम्मान, राहत वितरण र पुरस्कार वितरण गर्दै आएको छ ।
स्वर्गीय अमर नेम्बाङ स्रष्टा सम्मानबाट यसअघि डाक्टर देवी क्षेत्री दुलाल,मुनाराज सेर्मा,डाक्टर गोविन्दराज भट्टराई, बीर नेम्वाङ, विना थिङ, शारदा सुब्बा,श्रवण मुकारुङ र प्रेम ओझा सम्मानसहित पुरस्कृत भइसकेका छन् ।