April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोशी प्रदेशमा पहिचान पक्षधर र सरकारबीच आज वार्ता हुँदै

1.1K

काठमाडौं। कोशी प्रदेशमा पहिचान पक्षधर र प्रदेश सरकारबीच आज वार्ता हुँदैछ । प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले गठन गरेको वार्ता समिति र प्रदेश सरकारबीच आज अपरान्ह ३ बजे वार्ता हुन लागेको हो ।

पहिचान पक्षधरहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आएका छन् । पहिचान पक्षधरसँग वार्ता गर्न माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको थियो भने माघ २४ गते बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गरेको थियो ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य रहनेगरी वार्ता समिति गठन गरेको छ ।

Advertisement

पहिचान पक्षधरले गठन गरेको वार्ता समितिमा अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोबिन्दबहादुर आङबुहाङ, किरात राई यायोखा उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, नेकपा (एकीकृत समाजवादी) सम्बद्ध लिम्बू संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बू, नेकपा (माओवादी केन्द्र) सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राईलगायत छन् ।