साकेला । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गता भएका क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन नेपाल र साकेला गाउँपालिकाबीच सम्झौता भएको छ ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष रवि प्रकाश राई, निमित प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई तथा करुणा फाउण्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरे र वरिष्ठ कार्यक्रम अधिकृत गिता त्वानावासु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । प्रदेश सरकार सामाजिक मन्त्रालयले सुरु गरेको कार्यक्रममा तीन पक्षीय लागत साझेदारी रहने छ ।
कार्यक्रममा साकेला गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसन नेपाल ३३%, ३३% लागत साझेदारी हुने छ भने राष्ट्रिय अपाङ्ग महासंघकको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुने छ ।
यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्ने छ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने बताईएको छ । ३ वर्ष अवधिको सो कार्यक्रम २०८० माघ १ गतेबाट शुरु भई २०८३ पुष मसान्तसम्म संचालन हुनेछ ।
यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाई छ । सम्झौता अवधि समाप्त भएपश्चात दीर्घकालीन रूपमा कार्यक्रम यस गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै लगिने उनको भनाई छ । यही कार्यक्रमले अपाङ्गता भएका व्याक्तिहरुको निःशुल्क उपचारसमेत हुनेछ । यस कार्यक्रमको सञ्चालन भने सम्बन्धित पालिकाहरूले नै गर्ने बताईएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार साकेला गाउँपालिकामा मात्रै २७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् भने १०४ जनाले पूर्ण र अति अशक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।