April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य अघि वढाउन सहजीकरण समिति गठन

1.9K

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा अवस्थित (मुकुम्लुङ) पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो ।

बैठकले जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा आवश्यक तयारीका साथै असहमत पक्षसँग वार्ताका लागि नौ सदस्यीय वार्ता टोली गठन गरेको हो । समितिका सदस्यमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान र राजन लिम्बू (मुक्ति), प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेल रहेका छन् ।

पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाएका छन् ।

Advertisement

ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र
केबलकार निर्माण पक्षले भने संरचना निर्माण अघिका सबै प्रक्रिया पूरा गरी निर्माण थाल्ने योजनामा रहेको र यहाँका कुनै पनि मौलिकतामा निर्माणका कामले असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ ।

सो बैठकमा पाथीभरा मुकुम्लुङ केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेलले पाथीभरामा केबलकार निर्माणका लागि कानुनीलगायतका आवश्यक पक्रिया पूरा भएकाले निर्माण सुरु गर्ने वातावरण बनाउन स्थानीय स्तरबाटै सहयोग हुनुपर्ने बताए । यता जिल्लाका सबै राजनीतिक दलहरुसहित सरोकारवालाले केबलकार निर्माण गरी जिल्लालाई समृद्ध बनाउनपर्नेमा जोड दिँदै आएका छन् ।

पाथीभरामा केबलकार निर्माण भए मन्दिरको दर्शनका लागि भक्तजनलाई सहज हुने साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र जिल्लाको आम्दानीमा समेत वृद्धि हुने भन्दै यहाँका अधिकांश स्थानीयले लामो समयदेखि केबलकार निर्माणको चर्चा मात्र भएकाले अब काम नै सुरु गर्न माग गर्दै आएका छन् ।

पाथीभरा क्षेत्रमा प्राकृतिक सम्पदाको कम क्षति र मौलिकतालाई जोगाउँदै स्थनीय आम सर्वसाधारणले लाभ लिनसक्ने गरी केबलकार निर्माण गर्न मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जोड दिँदै आएका छन् । बुधबारको बैठकमा पनि सबैले यही धारणा राखेका थिए । कम्पनीले पनि स्थानीयको शेयरसमेत रहने गरी स्थानीय साझेदारी मोडलमा केबलकार निर्माण गर्ने जनाउँदै आएको छ ।