काठमाडौं । रुसी सेनामा भर्ती भएका अर्को एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका-१, घमारचोकका ३२ वर्षीय साजन गुरुङ रहेका छन् ।
परिवार स्रोतका अनुसार गुरुङले पुस १६ गते राती ८–९ बजेतिर अन्तिम भिडियो कल गरेका थिए । त्यसपछि सम्पर्क हुन नसकेकोमा एकाएक सामाजिक सञ्जालमा मृत्यु भएको खबर सार्वजनिक भएको परिवार स्रोतले जनाएको छ । साजनसँग २ सेकेन्डमात्रै कुरा गर्न पाएको र त्यसपछि फोन काटिएको र पटक पटक सम्पर्क गरे पनि सम्पर्क हुन नसकेको जनाइएको छ ।
रुसी सेनामा भर्ना भएका उनका साथीहरुले जर्मनमा रहेका साजनका भाइ कुमारलाई खबर पठाएपछि कुमारले गाउँमा दाइ साजनको मृत्यु भएको खबर पठाएका थिए ।
उनका अनुसार गाउँमा कसैको मृत्यु भएपछि जुठो हुने भएकाले गाउँलेलाई जुठो फुकाउन पुस २९ गते काजकिरिया समेत गरिसकिएको छ । मृतक साजनका श्रीमती र एक छोरा छन् । गाउँमा बुवाआमा छन् ।