साकेला । साकेला गाउँपालिकालाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ खिदिमामा डष्टबिन राखिएको छ । गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रम मार्फत वडाका विभिन्न २९ वटा स्थानहरुमा डष्टबिन राखिएको हो ।
गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि हरेक वर्ष बजेट बिनियोजन गरि सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ ।
गाउँपालिकालाई केही वर्षभित्रनै सरसफाईको क्षेत्रमा उत्कृष्ट बनाउने योजना मुताबिक विभिन्न सरसफाईको कार्य गरिँदै आइएको छ । सरसफाई अन्तर्गत पालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, बजारक्षेत्र, पार्क, धार्मिकस्थल, विद्यालय र संघसंस्थाहरुमा फोहोरमैला व्यवस्थापन गर्नका लागि डष्टबिन राखिएको छ ।
पाँचवटा वडा भएको साकेला गाउँपालिकामा फोहोरमैलाको दिगो व्यवस्थापनका लागि वडा नम्बर ३ खिदिमामा सटिङ साईड समेत निर्माणको क्रममा रहेको छ । विभिन्न स्थानहरुबाट निस्किएको फोहोरलाई उक्त स्थानमा पुर्याई कुहिने, नकुहिने, प्लाष्टिक र सिसाजन्य फोहोरहरुको व्यवस्थापन गरिने छ । अन्य वडाहरुमध्ये रतन्छा, मात्तिम र बाँझेच्यानडाँडाका विभिन्न स्थानहरुमा यसअघिनै डष्टबिन राखिसकिएको छ ।
“गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने गाउँपालिकाको भावि लक्ष्य छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा सरसफाईको क्षेत्रमा हरेक गतिविधि हुँदै आएको छ । पालिकाले सुरु गरेको फोहोरमैला व्यवस्थापनको कार्यमा स्थानीय नागरिकदेखि जनप्रतिनिधि र सरोकारवाला नागरिकहरुको महत्वपूर्ण साथ मिलेको छ । पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पुरा हुन्छ,” अध्यक्ष राईले भने, “सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ यसका लागि नागरिकले साथ दिनुपर्छ ।”
अहिले हामी हरेक कुराबाट पालिकालाई समृद्ध बनाउने कोशिष गरिरहेका छौं, संघ र प्रदेशको मात्र भर पर्ने हैन आफै आत्मनिर्भर बन्ने प्रयत्नमा लागिरहेका छौं, त्यसका लागि स्थानीय सरकार मात्र हैन नागरिक पनि संवेदनशिल बन्नुपर्छ –अध्यक्ष राईले भने, “हरेक विकासका कार्यहरुलाई सार्थकता तुल्याउन सरकार र नागरिक एकढिक्का भएर अघि बढ्नुपर्छ । अध्यक्ष राईले विकास र परिवर्तनका लागि आफू केन्द्रित नभई समग्र विकासको क्षेत्रमा कार्य गर्नुपर्छ ।”
फोहोरमैला व्यवस्थापन र पूर्ण सरसफाईको कार्य पालिकाका सबै वडा र टोल तथा बस्तीहरुमा नियमित रुपमा गरिँदै आइएको छ ।