November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘मेरो टोपी कैलाशको शिर जस्तो’

लेखनाथ शिकारू
२०८० पुष १६

2.3K

आज विहानै काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन लगायतका क्षेत्रमा औपचारिक कार्यक्रम गर्दै ११ औं ‘टोपी दिवस’ मनाइएको छ । हरेक वर्ष जनवरी १ मा मनाइने यो दिवस पाटनमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र वसन्तपुरमा जागरुक युवा अभियान नेपालले दिवस मनाएका हुन्

‘मेरो टोपी कैलाशको शिर जस्तो हिमाली भीर जस्तो कहिल्यै पनि झुक्न नजान्ने कहिल्यै पनि रुक्न नमान्ने मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो’ – गोपाल योञ्जन नेपाली टोपीको सन्दर्भमा गोपाल योञ्जनको यो गित नै काफि छ । हाम्रो शान, मान र पहिचानको सवालमा । नेपाली टोपीको साइनो विश्वको अग्लो शिर नेपालमा रहेको सगरमाथा, कैलाश पर्वतसँग जोड्ने गरीन्छ । बिगत ११ वर्षदेखि जनवरी १ तारिखलाई नेपाली टोपीः नेपालीको शान, मान र पहिचान भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिएको छ ।

नेपाली टोपी दिवस स्वस्फूर्त रूपमा नेपाली जनले मनाउँदै आएका छन् । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली पहिचानमा प्रभाव परेको भन्दै केही युवाहरूले २०७० सालदेखि ‘टोपी दिवस’ मनाउन थालेका हुन् । ढाका नेपाली हातले बुनिने एउटा विशेष प्रकारको कपडा हो र त्यसबाट बनेको टोपी नै ढाका टोपी हो जुन नेपालीको शान पनि हो । टोपीलाई शिरपोस पनि भनिन्छ । यस्तै ढाका टोपी ढाकाको कपडाबाट बनेको पुरूषहरूले लगाउने पहिरन टोपी हो । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी प्राय पुरूषहरूले प्रयोग गर्छन् । प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाका टोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली र पूर्वेली ढाका टोपीलाई देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ । हाम्रो मान, शान र पहिचान नेपाली टोपी हो । यसको सम्मान हामी सबैले गर्न जरुरी छ । नेपालमा थुप्रै जातीय तथा सांस्कृतिक टोपीहरु प्रचलनमा छन् । त्यसका साथै थुप्रै मौसमी र फेसनेवल टोपीहरु भित्रिरहेका छन् । विशेषतः कालोटोपी, भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीको रुपमा चिनिँदै आएको छ ।

Advertisement

विगतदेखि नै विश्व समुदायले पनि यही टोपीलाई नेपाली टोपी भनेर बुझ्दै मान्दै आएका छन् । नेवारी भाषामा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई ढाका टोपी भन्ने गरिएको मानिन्छ । ढाका टोपी नितान्त नेपाली उत्पादन मानिन्छ । केहि विश्लेषकहरुले टाउको ढाक्ने हुनाले टाउको ढाक्ने टोपी लाई कालान्तरमा ढाका टोपी भनियो भनेर पनि उल्लेख गरेका छन् । त्यो खोज अनुसन्धानको विषय हो । सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एउटा सार्वजनिक पेज निर्माण गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो । त्यसपछि सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । उक्त सामाजिक संजालका संस्थापकद्वय डा. लेखनाथ काफ्ले र शंकर बन्जाडे रहेका थिए । उनीहरुले नेपाली टोपी प्रतिष्ठान नामक गैरसरकारी, गैरनाफामूलक संस्था नै गठन गरेर अभियान नै चलाएका थिए । अभियानले अन्तराष्ट्रिय रूपमा नेपालीपनको प्रबद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबद्र्धन र सम्बद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा अभियन्ताहरुको छ ।

नेपाली टोपी नेपाली र नेपाली मूलका नागरिक भएका सबै स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔंदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र बिस्तार गरी विश्वसामु चिनाउने उद्देश्यले अहिले संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । टोपी दिवसको सन्दर्भमा २०७० फागुन ११ गते धरानमा आर्ट अब लिभिङ नामक एक संस्थाले भारतीय गुरु रवि शंकरलाई आमन्त्रण गर्यो शंकरको सम्मानमा धरान– १२ को पब्लिक मैदानमा नेपाली टोपीसहित दौरा सुरुवालले स्वागत गरिएको थियो । सोही कार्यक्रममा रवि शंकरले उद्घोष गरे “नेपाली टोपी सबैले जोगाउनु पर्छ यस्को सम्मान हुनुपर्छ । यसो गर्न अब हरेक अङ्ग्रेजी बर्षमा हामीले नेपाली टोपी दिवस मनाउनु पर्छ ।” यसरी पनि अभियानको सुरु भएको भनिन्छ । ‘हामीले अरुका चाड पर्व र दिवसहरु मनायौं । तर आफ्नै मौलिकता भने बिर्सन थाल्यौं । त्यसैले अंग्रेजी नयाँ वर्षको दिनलाई टोपी दिवसका रुपमा नेपाली पहिचान स्थापित गर्न मनाउन थालिएको अभियन्ताहरुको भनाई छ । त्यसो गर्दा अन्तराष्ट्रिय रुपमा नेपालीपनको प्रबद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबद्र्धन र प्रसार गर्न मद्दत पुग्ने उनीहरुले बताएका छन् ।

टोपी नेपालीहरुको प्रतीक हो । हाम्रो ढाका र भाद्गाँउले टोपीले नेपाली हुनुको पहिचान थप बलियो बनाउन मद्यत गर्छ, नेपाली टोपीले नेपालको नागरिक भनेर मात्र चिनाउँदैन । अभियानमा सकिन्छ भने साथ दिँऊ नत्र विरोध भने नगरौं । मानव सभ्यता र संस्कृति विकासशील कुरा हो, त्यसैले त्यसमा अरूको सिको, प्रभाव वा नक्कल हुन पनि सक्छ । संसारका ८० प्रकारका टोपी देखाउने एउटा वेबसाइटले नेपाली ढाका टोपी संलग्न गरेको थियो तर नेपाली टोपीसँग मिल्ने टोपी पाइन्न । ब्रिटिस साम्राज्यवादहरुले समेत नेपाली टोपीको गाथालाइ ईतिहाँसमा उल्लेख गरेको घटनाले समेत यो टोपीको आफनै मौलिक महत्व रहेको छ ।

दिवस मनाउनुको प्रमुख उद्देश्य, सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवं सम्पूर्ण नेपालीभाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको अभियन्ता डा. काफ्ले बताउनु हुन्छ ।

नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार नवराज पोखरेलको विशेष पहलमा, हालसम्म विश्वका ४० वढी देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा गठन हुनुका साथै थप गठन हुने प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ । जागरूक युवा अभियान नेपालका अभियन्ताहरूमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईँ र राजेश खत्री रहेका छन् । अन्त्यमा सन् २०२४ को हार्दिक शुभकामनासहित ११ औं अन्तराष्ट्रिय नेपाली टोपी दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वाससहित टोपी दिवसले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपाली पनको निरन्तर खोजी संरक्षण र प्रर्वद्धनमा सहयोग पुगोस् शुभकामना ।