April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा ‘महजोडी’को जोडदार प्रस्तुति

1.5K

लन्डन । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बेलायतमा प्रस्तुति दिए। ‘मह जोडी टुर २०२३’ सिलसिलामा बेलायत आइपुगेका जोडीले लण्डन ह्यारो लिजर सेन्टरमा आयोजित कार्यक्रममा नेपालमा बढ्दै गएको भ्रष्टाचार र बेथितविरुद्ध चोटिलो प्रस्तुति दिएका हुन् । 

उनीहरूले प्रहसन प्रश्नोत्तरको माध्यमबाट मोबाइल फोनप्रति मानिसहरुको बढ्दो मोह र नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धको प्रसङ्गमाथि पनि प्रस्तुति दिएका थिए भने नेपाली युवा रुसी सेनामा भर्ना हुन जाने अवस्था कसरी सिर्जना भयो ? भन्दै निराशा पनि व्यक्त गरे।

कार्यक्रममा मदन कृष्ण श्रेष्ठले ‘फुलबुट्टे सारी’ गीत गाउन थालेपछि दर्शकहरु स्टेज नजिकै गएर नाचेका थिए । आचार्यले कार्यक्रममा ‘साझा बसमा जो पनि चढ्द छ’ लगायत गीत सुनाएका थिए।

Advertisement

कार्यक्रममा प्रकाश सपूत, मदन कृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना, शर्मिला बर्देवा लगायत कलाकारले पनि रोचक प्रस्तुति दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली समाजलाई दिशा निर्देश गर्ने काममा मह जोडी र प्रकाश सपूतले निकै योगदान पुरयाइरहेको भन्दै प्रशंसा गरे। उनले यस्ता प्रस्तुतिले समाजमा एकता र सद्भाव बढाउन मद्दत पुग्ने पनि बताए। 

राजदूत आचार्यले आयोजकको तर्फबाट कलाकारहरुलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए।