काठमाडौं । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले दार्चुला तिंकर सडकको स्थलगत अनुगमन गरेका छन् । मन्त्री ज्वाललाले तुसारपानी–कोठाधार–तिंकर सडकखण्डमा भइरहेको कार्य प्रगतिको स्थलगत अनुगमन गरेका हुन् ।
सो अवसरमा नेपाली सेनाले दार्चुला तिंकर सडक खण्डको प्रगति विवरण ब्रिफिङ गरेको थियो ।
मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, भौतिक पूर्वाधार सचिव केशव शर्मा, सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेललगायतको टोली दार्चुला आउन लागेको हो ।
बिहीबार (आज) बिहान नेपाली सेनाको एन ए ०५४ नम्बरको हेलिकोप्टरमार्फत भौतिक पूर्वाधार मन्त्री ज्वालाको नेतृत्वको टोली काठमाडौंबाट सुर्खेत हुँदै सुन्सेरा पुग्ने तालिका छ । मन्त्री ज्वाला नेतृत्वको टोलीले सुरुमा सेनाले निर्माण गरिरहेको सडक अनुगमन गर्ने तयारी रहेको छ ।
त्यस्तै, टोलीले सुन्सेरा र महाकाली नदी किनार क्षेत्रमा निर्माण भइरहेको सडकको हवाई अवलोकन गर्नेछ ।त्यस्तै,व्यास गाउँपालिकाको –२ दुम्लिङ वा थिइक्षेत्रमा रहेको सेनाको क्पाम्पमा पनि अनुगमन टोली हेलिकप्टरबाट पुग्ने छ । छाङरू र तिंकर गाउँसम्मको क्षेत्रमा हवाइफन्को लगाएर टिंकर सडकको प्रस्तावित एलाइनमेन्टको समेत अवलोकन गर्ने तयारी छ ।
बुधबार हिजो बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडकखण्डको राष्ट्रिय महत्त्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।