विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याइने बताएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
आगलागीका घटनाहरूमा सरकारले राहत उपलब्ध गराएतापनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो । मुख्यमन्त्री कार्कीले भने, “आगलागीका घटना धेरै नै भइरहेको छ । सरकारले पैसा पनि दिइनै रहेको छ ।अधिकतम ५० हजार प्रदेश सरकारले पनि घर जलेको अवस्थामा पैसा दिन्छ । करोडौंको घर जल्छ, ५० हजार पैसा दिन्छन् । तर, त्यसलाई बीमामा हामीले लिएर गयौं र साझेदारीमा गर्न सक्छौं ।’
कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले बाख्रा र बङ्गुरको बीमामा भुक्तानीका लागि बीमा कम्पनीमा निकै झण्झटिलो अवस्था सिर्जना भएकामा बीमा प्राधिकरणको ध्यानाकर्षण गराए भने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायत भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी हालेसरह भएकामा यसमा सुधार गर्न सुझाव दिए ।