April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ तारादेवी र गणेश रसिकलाई

2.1K

काठमाडौं । नारायणगोपाल संगीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ गायिका तथा संगीतकार तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई दिने निर्णय गरेको छ। कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

‘स्वरकिन्नरी’ तारादेवीलाई करिब पाँच दशक गीतसंगीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसंगीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिने निर्णय गरेको अध्यक्ष शेरचनले बताइन् ।

विसं २००२ माघ २ गते जन्मिएकी तारादेवीले ‘फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा’, ‘हिमालको काखमा छ मेरो सानो गाउँ’, ‘उकाली ओरालीहरुमा’, ‘शुभकामना भरि’, ‘सोचे जस्तो हुन्न जीवन’ लगायतका सयौँ कालजयी गीतहरूमा आवाज दिएकी छन् । रेडियो नेपालमा पनि करिब चार दशक सेवारत रहेकी उनको २०६२ माघ ९ मा निधन भएको थियो। उनले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब ३ हजार ५ सय गीत गाउनाका साथै केही गीतमा संगीत पनि दिएकी छिन् । उनका नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ ।

Advertisement

विसं २००४ आश्विन ४ गते नौलागाउँ, छिनामखु भोजपुरमा जन्मिएका रसिक लगभग पाँच दशक अघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका हुन् । नेपाली गीत सङ्गीत क्षेत्रको बहुआयमिक व्यत्तित्व रसिकको गीत लेखन र गायनमा नेपाली समाजको दुःख, संघर्ष, उन्नति र सपनाको सरल प्रस्तुति तर गम्भिीर अर्थ भेटिन्छन् । उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि सङ्ग्रह प्रकाशित गरिसकेका छन् ।

यही मङ्सिर १९ गते स्वरसम्राट्को ३३ औँ स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिए । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।