काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानून व्यवसायीले बहस गर्ने भएकाले आजदेखि निरन्तर सुनुवाइको तालिका तय गरिएको हो ।
उच्च अदालत पाटनमा हुने यस मुद्दामा अहिलेसम्म ६ पटक पेसी चढिसकेको छ, तर सुनुवाइ भने भएको छैन ।
पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन् । धरौटीमा छुटेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ ।
यश घटनामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् ।
खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पनि पुर्पक्षका लागि थुनामै छन् ।
यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो । सबैको निवेदनमा एकैपटक सुनुवाइ हुन लागेको उच्च अदालतले जनाएको छ ।