हङकङ । लान्ताउ ट्रैल ५० किमि दौड प्रतियोगिताका विजेता नेपाली खेलाडीहरूलाई हङकङमा सम्मान गरिएको छ। गत आइतबार साँझ जोर्डनस्थित बगैंचा रेष्टुरेण्ट एण्ड बारमा एक कार्यक्रम आयोजना गरी ट्रेलरेस प्रतियोगितामा सहभागि नेपाली विजेता खेलाडीहरूलाई रात्रिभोजसहित सम्मान गरिएको हो ।
हङकङ नेपाल अल्ट्रा ट्रेल एसोसियसनद्वारा आयोजित उक्त कार्यक्रममा खेलप्रेमी व्यक्तित्व लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा खेलाडीहरू सुनमाया बुढा, पदम कुमार सुनुवार, सविना खालिङ र स्थानीय धावक दिना बगाले लगायतलाई आयोजक संस्थाका अध्यक्ष- बेदराज लिम्बू, एनआरएन हङकङका अध्यक्ष गोकर्ण ढकाल, सुनुवार समाज हङकङका अध्यक्ष श्यामकर्ण सुनुवार, ओधान अकिडो हङकङका संयोजक नबिन कुमार सुनुवार लगायतले खदा लगाएर सम्मान गरेका हुन् ।
आयोजक संस्थाका सचिव बसन्त लिम्बूले गरेको उक्त कार्यक्रममा नेपालबाट आएका खेलाडीहरूलाई रेड पकेट नगद (लाईसी) पनि प्रदान गरिएको थियो । सुनुवार समाज हङकङका अध्यक्ष श्यामकर्ण सुनुवारले संस्थाको तर्फबाट खेलाडीहरूलाई नगद (लाईसी) प्रदान गरेका थिए । उक्त अवसरमा खेलाडीहरूलाई बगैँचा रेष्टुरेण्ट एण्ड बारको तर्फबाट निशुल्क भोजनको व्यवस्थासमेत गरिएको थियो ।
नोभेम्बर ११ शनिबारको दिन भएको युटिएम बि ट्रान्स लान्ताउ ५० किलो मिटर दौड प्रतियोगितामा नेपालबाट सुनमाया बुढा, पदम कुमारी सुनुवार र सबिना खालिङ ३ जना धावकहरूले भाग लिएका थिए । उक्त प्रतियोगितामा नेपाली चेली सुनमाया बुढाले ५ घण्टा १२ सेकेण्डमा निर्धारित दुरि पार गर्दै पहिलो बनेकी थिइन् भने स्लोभाकियाकी भेरोनिका भाडोभिकोभाले ५ घन्टा ५५ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र चेज रिपब्लिक कि मर्सेला भसिकोभाले ६ घन्टा २४ मिनेट ४६ सेकेन्डमा दुरि पार गरि तेस्रो बनेका थिए।
यस्तै, पदम कुमारी सुनुवारले ७ घण्टा १५ मिनेट ५६ सेकेण्डमा निर्धारित समय पार गरि आठौं स्थान ओगट्न सफल भएकि थिइन् भने अर्की नेपाली खेलाडी सोनिका राईले ७ घण्टा ५० मिनेट ३० सेकेण्डमा निर्धारित समय पार गरेर सत्रौं स्थान ओगट्न सफल भएकी थिइन्।
यस प्रतियोगिताको प्रायोजन एक्सचेन्ज ईम्पावर कम्पनी मार्फत मिरा राईको पहलमा नेपाली प्रतियोगिहरूलाई प्रतियोगितामा समावेस गरिएको थियो ।