काठमाडौं– बैंकहरुले सेयर बजारमा ६७ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन्। बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामा सेयर धितोकर्जा ‘मार्जिन प्रकृतिको कर्जा’ बढाउन थालेका हुन्। एक वर्षको अवधिमा बैंकहरुले यस्तो कर्जामात्रै ३४.६ प्रतिशतले बढाएका छन्। गत वर्षको मंसिर महिनासम्ममा सेयरधितो कर्जा जम्मा ४४ अर्ब ६१ करोड रुपैयाँमात्रै थियो।
नेपाल सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन पछि दोस्रो बजार लगातार सुधार भइरहेको छ। यस अवधिमा नेप्से सूचक ११ सय अंकले सुधार भएको छ। नेप्से सूचक सुधार हुन थालेसँगै सेयर धितोकर्जा लिनेको संख्या पनि बढिरहेको छ।
बैंकहरुले निक्षेपको ब्याजदर कम हुँदा बैंकिङ कर्जा सेयर बजारमा गइरहेको छ। औपचारिक रुपमा मार्जिन प्रकृतिको कर्जा सेयर बजारमा गए पनि अन्य क्षेत्रका लागि भन्दै लिइएको कर्जा पनि दोस्रो बजारमा गइरहेको राष्ट्र बैंकको ठहर छ। ओभरड्राफ्टबाट लिइएको कर्जा पनि दोस्रो बजारमा जाँदा थप पैसा गइरहेको राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको मौद्रिक समिक्षाको क्रममा जनाएको थियो।