काठमाडौं । सरकारले भूकम्पपीडितहरूको उद्धार र राहत वितरणमा कडाईका साथ एकद्धार प्रणाली अपनाएको बताइएको छ । विगतका प्रकोपहरूमा जस्तो पीडितहरूमाझ जाने र दुई पोका राहत दिएर सेल्फी खिच्ने, टिकटक बनाएर सार्वजनिक गर्नेजस्ता गतिविधिहरू यसपटक हुन नदिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन्, ‘पहिलेजस्तो एक दुई पोका राहत दिने, सेल्फी खिच्ने र टिकटक बनाउने, सामाजिक सञ्जालमा हल्ला गर्ने गतिविधिलाई यसपटक हुन दिइएको छैन । त्यस्तो गर्नेहरूलाई बाटोमै रोकिएको छ ।’
उनले राहत वितरणमा प्रदेश सरकार र स्थानीय तहको नेतृत्व रहेको बताइन् । ‘राहत वितरणलाई एकद्धार बनाउने सरकारको निर्णय हो । त्यहीअनुसार जहाँबाट जसरी प्राप्त भएपनि ती राहत सामाग्रीहरुलाई स्थानीय तहमार्फत् वितरण गर्ने व्यवस्था मिलाइएको छ,’ मन्त्री शर्माले भनिन्, ‘राहत वितरण व्यवस्थित छ, एकद्धार प्रणालीबाटै भएको छ । सकेसम्म सबैलाई समयमा राहत उपलब्ध गराउने प्रयास भएको छ ।’
यस्तै, राहत वितरणमा पक्षपात भएको भन्ने विषयमा सत्यता नभएको मन्त्री शर्माले बताइन् । उनले भनिन् , ‘राहत वितरणमा पक्षपात गर्ने भन्ने कुरा सोच्न पनि सकिदैन । यदि कसैले त्यस्तो सोच्छ भनेमात्रै पनि त्यो त अपराध नै हो। एकैपटक सबैलाई पीडा भएको छ, समस्या भएको छ । बाँड्दै जाँदा कसैलाई छिटो प्राप्त हुने, कसैलाई अलि ढिलो हुने भएको हुन सक्छ, तर पक्षपातपूर्ण व्यवहार भएको सूचना सरकारलाई छैन, कसैलाई पनि त्यस्तो गर्न दिइदैन ।’