साहित्यको नाम सहित बजेट बिनियोजन गर्नेछु: गा.पा. अध्यक्ष सुमन मिरिङचिङ
’‘एक्कासि ताली पड्कँदा पो झसङ्ग झस्किएछु
रैछु एउटा बडेमानको महलमा
छेवैमा थिए कविताका बादशाह भुपाल राई
कोटको धचुरी मिलाउँदैथिए मन्त्री सुदन किराँती
शीतल निवासले सुम्पदैथिए कविताको अरु जिम्मेवारी
राष्ट्रपतिले मेरो कुममा बधाईको धाप मारिरहेका थिए ।
घर फिर्दा भोलिपल्ट
‘राजधानी एक्सप्रेस’बाट एउटा स्ट्याटस लेखेँ
“काठमाडौबाट सतिसालेलाई सम्झेको दिन ……।”
यो कविताको अङ्श कविले वाचन गर्नेवित्तिकै कार्यक्रममा उपस्थित आम सतिसालेबासीले सतिसालेबासी हुनुमा गर्व गर्दै परर ताली पड्काए ।
सन्दर्भ थियो ‘स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम’को । मङ्सिरे चटारोको बाबजुद सतिसाले क्रिएटिभ ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा माथिका जस्तै कविताहरू वाचन भयो । सो ग्रुपले सतिसालेको विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्रस्टा तथा अग्रजहरूको कदर गर्दै सम्मान कार्यक्रम तथा कवि प्रकाश दिप्साली राईको एकल कविता वाचन कार्यक्रम समेत राखेको थियो ।

सतिसालेमा शिक्षा तथा खेलको जग बसाएको भन्दै हालसालै दिवङ्गत जीतबहादुर राई (मरणोपरान्त), त्यस्तै सतिसालेको विकासको जग साथै शिक्षा र समाजसेवाको धरोहर मोहनसिङ लिम्बुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सतिसालेमा लामो समयसम्म सतिसालेको कला र साहित्यको निम्ति योगदान पुराउदै नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ६६ औं राष्ट्रिय कविता महोत्सव –२०८० का उत्कृष्ट १० विजेता कवि प्रकाश दिप्साली राईलाई पनि सम्मान गरिएको थियो । सम्मानित जितबहादुर राई र मोहनसिंह लिम्बुको जीवनी शिक्षक कुमार विश्वकर्माले वाचन गरेका थिए भने प्रकाश दिप्साली राईको जीवनी उनका बालसखा राकेश राईले प्रस्तुत गरेका थिए ।
‘वर्षौंपछि
फर्केर बुढीखोलाको डिलमा
खै के के सम्झिएर
एक तमास टोलाएँ
त्यही बेला स्पर्श गरेर गयो
सेताम्मै एक हुल काँसका फूलहरू
जसले सम्झायो वर्षौं अघिको
उहीँ हाम्रो अधुरो प्रेमलाई ।
०००
वस्
हिजो र आजमा फरक यति छ –
ती काँसका फूलहरूले
हिजो तिमी र मलाई उमङ्गसहित स्पर्श गरेर गएथ्यो
आज मेरो रित्तो मनलाई स्पर्श गर्दै
खाटा बसेको घाउमा नुनचुक दलेर जाँदैछ
तर निर्दोश छन् ती सेताम्मे कासका फूलहरू ….’
(काँसघारीले सम्झाउने प्रेम)

दिप्सालीले आफ्नो एकल कविता वाचनको क्रममा निक्कै भावुक बनेर उल्लेखित प्रेम कविता वाचन गरे । उनले यति पनि भन्न भ्याए “सतिसालेमा मेरा धेरै कुराहरू छन् बाल्यकाल, मस्त यौवन, प्रेम अनि गुनासाहरूसङ्गै अनगिन्ती खुसीहरू पनि यतै छन् र नै बेलाबेला सतिसाले आइरहुँ लाग्छ र आइरहन्छु । यो ठाउँ छाडेको झण्डै दुई दशकपछि यो ठाउँमा भएको सिर्जनशील गतिविधिले म असाध्यै खुसी छु । नयाँ पुस्तासङ्ग सदा सहकार्य गर्नेछु ।” उनले आफू जे जे सिर्जनशील गतिविधीमा सकृय छु त्यसको एउटा जस सदा सतिसालेलाई समर्पण गरिरहेको पनि बताए ।
‘हो
ठीक यो समयमा
म पनि नौरानको नाम जोगाउनकै खातिर
भौतारिरहेको एक पात्र हुँ
मलाई कामभन्दा पहिले नाममा विश्वास छ
र नै मलाई नौरानको नाम प्रिय छ
जबसम्म म मेरो नाम चोमोलोङ्मा र फक्तालुङको
शिरमा फहराउन सक्दिन
तबसम्म अनिकालको भोकले विद्रोह गरे पनि
नाम छाडि कामको कुनै प्रवाह हुनेछैन मलाई
किनकी ! नौरानको नामभन्दा प्रिय
भोक र काम कहिल्यै हुन सक्दैन मलाई ।’
(नौरानको नाम)

दिप्सालीले यही कविताले एकल कविता वाचनको बिट मारे । जुन कविताले राष्ट्रिय कविता महोत्सव –२०८० मा उनलाई उत्कृष्ट १० को विजेता बनाएको थियो । एकल वाचनको बिट मरौनीमा उनले बालसखा, सतिसालेका प्रवुद्ध व्यक्तित्व सबैलाई सम्झदै जनप्रतिनिधिहरूलाई निरन्तर खबरदारी गरे । उनले भने “तपाईंहरू भैतिक विकास मात्र विकास नठान्नुस, तपाइँहरू ठेकेदार र आफ्नो कार्यकर्ताको मात्र अभिभावक हैन तपाइँहरू त हामी जस्ता कवि लेखकहरूको पनि अभिभावक हो । तपाइँहरू साहित्य र सिर्जनाप्रति जिम्मेवारी बनिदिनुस ।” दिप्सालीले ‘सतिसाले सम्झना’, ‘प्रेम कविता’ र ‘राजनीति कविता’ गरी ३ खण्डमा ९ वटा कविता वाचन गरे । कार्यक्रममा स्थानीय सर्जकहरूले सिर्जना वाचन तथा गीत गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङले सम्भवत पहिलोपल्ट यति महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाएकोमा आफुलाई गौरवान्वित ठानेको बताउदै आजको कार्यक्रमबाट थुप्रै कुरा सिकेको र कला र साहित्यप्रति उद्दार मनले अघि बढ्नेसमेत बताए । उनले भने “म आउने सालबाट साहित्यको नाम जोडेर नै बजेट बिनियोजन गर्नेछु । जुन कुरा आज कवि लेखकहरूको बाक्लो उपस्थितिले मलाई महसुस गराएको छ ।”
कार्यक्रममा शिक्षासेवी बासुदेब पौडेल, पुर्व गा.वि.स. अध्यक्ष टेकबहादुर लिम्बू, किरात राई यायोख्खा केन्द्रिय उपाध्यक्ष दोर्पाधोज राईलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य एवम कार्यक्रममाथि सनम तामाङले प्रकाश पारेका थिए यस्तै कार्यक्रमलाई ममता पराजुलीले सञ्चालन गरेकी थिइन् भने कार्यक्रमका सभाध्यक्ष ग्रुपका अध्यक्ष समीक्षा छिलिङ राई रहेका थिए ।