विराटनगर । अवैध सुनचाँदीको कारोबार गरेको आरोपमा पशुपति ज्वेलर्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी, राजस्व, प्रसाशन र भन्सार कार्यालयको टोलीले बिहीबार ज्वेलर्समा छापा मार्दा करिब २० किलो सुनचाँदीको गहनासहित सञ्चालक विश्वजित जानालाई पक्राउ गरेको हो । बरामदमा गहना चाँदीका धेरै छन् । बरामद सुनचाँदीको विलबिजक नभेटिएको प्रहरीले बताएको छ ।
विराटनगर महानगरपालिका–११ पिचरामा रहेको पशुपति ज्वेलर्समा छापा मार्दा सुन–चाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको हो ।
ज्वेलर्सका सञ्चालक विश्वजित जानाले भारतबाट भन्सार छली गरेर ल्याएर गरगहना एवं सामग्री बिक्री गर्ने गरेको सूचनापछि छापा मार्न प्रहरीको टोली पुगेको थियो ।
प्रहरीका अनुसार ज्वेलर्सबाट सुन–चाँदीका पाउजु, ब्रासलेट, करुवा, थाली, औंठी, दियो, लोटा, भगवानका मूर्ति, टिकादानीलगायतका सामान बरामद भएको छ ।
भारतको पश्चिम बंगालको मजलिसपुरस्थित पश्चिम मेदेनीपुर घर भएका जानाले विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।