काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले इन्डियन वुमन्स लिग (आईडब्लुएल) को नयाँ सिजन पनि सेथु एफसीबाटै खेल्ने भएकी छन् । उनले आगामी सिजनको लागि सेथुसँग सम्झौता नविकरण गरेकी हुन्।
सेथुले शुक्रबार सामाजिक सञ्जालमार्फत एन्जिलाले नयाँ सिजन पनि क्लबबाटै खेल्ने जनाएको छ र स्वागत गरेको जनाएको छ ।
तुम्बापोले अघिल्लो सिजन सेथुबाट खेल्दै इन्डियन वुमन्स लिगमा डेब्यु गरेकी थिइन् । त्यस सिजन उनले क्लबको कप्तानी समेत गरेकी थिइन् ।
वुमन्स लिगमा एन्जिलाको यो दोस्रो सिजन हुनेछ । गत सिजन एन्जिलाको टोली सेथु सेमिफाइनलमा किक स्टार्टसँग पराजित भएको थियो । एन्जिलाले पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।
इन्डियन वुमन्स लिगको नयाँ सिजन आगामी डिसेम्बर दोस्रो साता सुरु हुनेछ र २०२४ मार्चसम्म चल्नेछ । सेथुले डिसेम्बर ८ मा च्याम्पियन गोकुलम केरलासँग खेल्दै लिग सुरुवात गर्नेछ ।