April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

लिम्बू कथाकारितामा नयाँ सीमास्तम्भ मना लाङ्योःक्खा?

बैरागी काइँला
२०८० कार्तिक ११

9.1K

कामले थाकेर बेलुकीघर चुल्हाको वरिपरि बसेर आगो ताप्दै कथा भन्ने सुन्नेसुनाउने पुरानो चलन हो । समयको परिवर्तन सँगसँगै कथा सुन्नेसुनाउने परम्पराले लेख्यपरम्पराको रूप लिएपछि आधुनिक कथालेखनको विकास भयो ।

लिम्बू भाषासाहित्यमा कथाको विकासको कुरा गर्दा मौखिक रूपमा गायन र वाचन गरिने हाम्रा मुन्धुमभित्रका वर्णन गरिएका अनेक लोककथासम्म पुग्दछौँ । मुन्धुमभित्र मौखिकरूपमा वाचन गरिदै आएका यस्ता कथाहरू थुप्रै पाइन्छन् ।

लिम्बू भाषामा लेख्यपरम्पराको विकासको इतिहासको आरम्भ दोस्रो सिरिजङ्गाको पालापछि भएको मानेमा सारै कथालेखनको इतिहास धेरै वर्ष भएको छैन । लेख्पपरम्पराको थालनी पछि पनि सृजनात्मक लेखन त अझ धेरै पछिको शुरु भएको हो । लिम्बू साहित्यमा आधुनिक साहित्य लेखन अघिका साहित्यलेखनमा अर्तिउपेशका कुरा, शिक्षा दिने लोककथा, सिरिजङ्गाका जीवनीजस्ता विषयमा लेखिएका कथाहरू एकाध पाइन्छन् ।

Advertisement

आधुनिक लिम्बू काव्यसाहित्यको विकासको इतिहासको कुरा गर्दा हामी विसं २०१२ मा प्रकाशित सु. खड्गबहादुर नेम्बाङको किरात मिक हन् साम्लोमा पुग्दछौँ भने आधुनिक लिम्बू गद्यसाहित्यको चर्चा गर्दा काजीमान कन्दङवालिखित घरबार कथा (वि.संं २०१८) मा पुग्दछौँ ।

नेपाली साहित्यमा भारतीकालीन प्रख्यात कथाकार हुन काजीमान कन्दङवा । लिम्बू भाषामा उनका तीन कथाहरू(दुई अनुदित र एक मौलिक) को सङग्रह पान्थरे योबाआङ् एरा (वि.सं. २०१८(ई १९६१) मा प्रकाशित भएको थियो । त्यसभित्र कारबार शीर्षकको कथा मौलिक लिम्बू कथा छ । यसै कथालाई हामी लिम्बू आधनिक कथाका आरम्भ बिन्दु मान्न सक्दछौँ ।

तैपनि यस अवधिमा मौलिक कथा सारै थोरै संख्यामा लेखिएका छन् । सन् १९७५ पछि सिक्किम (भारत)मा शिक्षामा लिम्बू भाषाको पनि पठनपपाठन हुन थालेपछि लिम्बू लेख्य साहित्यमा अभूतपूर्व विकास हुन थालेको हो । यसै क्रममा कथा, उपन्यास, निबन्ध तथा नाटक लेखनले पनि ठूलै फड्को मारेको छ । नेपालभित्र लिम्बू साहित्यमा आधुनिक कथालेखनको इतिहास पहिल्याउँदै जाने क्रममा किरात याक्थुङ् चुम्लुङ्ले प्रकाशित गरेको फाङ्सेसे (विसं ) कथा सङ्ग्रहमा देखिने नवीन प्रवृत्तिको उल्लेख गर्नुपर्दछ । यसरी हामी कथाकार पुष्प लोवाको नवीनतम कथासङ्ग्रह मना लाङयोःक्खा? सम्म आज आइपुग्दछौँ ।

सानो झ्यालबाट संसार हेरेझैँ हामी पुष्प लोवाका कथाहरूलाई पढिहेरौँँ । हाम्रो हातमा पुष्पहाङ लोवाको कथा सङ्ग्रह मना लाङयोःक्खा? छ, जसभित्र १२ थान कथाहरू छन् ।

कथाको विषयवस्तु
सामाजिक र सांस्कृतिक मूल्यमान्यतामा देखापरेको विचलन, द्वन्द्व, र त्यसले जीवनमाथि पारेको प्रभावका साथ समसामयिक राजनैतिक घटना विषेषतः माओवादी सशस्त्र द्वन्द्वकालमा बाँच्नलाई कठिन बेलाको परिस्थितिलाई कथाकार पुष्प लोवाले कथाका भावभूमि बनाएका छन् ।

बदलिँदो समयमा विकृत हुँदै गएका परम्परागत मूल्यमान्यता प्रतिविम्ब गर्दै कथा लेख्ने पुष्प लोवाको कथालेखनको विषेशता हो । गाउँघरकोे यथार्थको जीवन्त चित्रण कथाकारको सफलता हो । लिम्बू जाति र गाउँको जनजीवन, रहनसहन, आनीबानी, तिनको विश्वास र अन्धविश्वासको चित्रण उनका कथाका विशेषता हुन् । हराउँदै जाँदै गरेका लिम्बू भाषा, रैथाने चालचलन, खानेकुरा, घरेलु सरसामान, स्थाननाम र संकटग्रस्त संस्कृति पुष्प लोवाको कथाका विषय भएका छन् ।

मुलुकमा माओवादी सशस्त्र द्वन्द्वकालमा आदिवासी (लिम्बू जाति र समाज)ले ठूलो संकटबाट गुज्रिनु पर्यो । मातृभाषा लिम्बू बोल्न नपाउने राज्य र विद्रोही माओवादीको दबाव तथा करबलमा माओवादी क्रान्तिमा होमिएका युवाहरूको कथा ‘तेन्धङले थोःक्खुबा खेदा?’ले र बुढेसकालमा जलेको सपना सम्झदै संकटकालको अवधिमा सकसपूर्ण जीवन बाँच्नु पर्दाको मनछुने चित्रण कथाकार लोवाको कथा (केजेःक्पा सेप्माङ)मा जीवन्त अभिव्यक्ति पाइन्छ् ।

आधुनिक शिक्षा र समयले परम्परागत जीवनमा पारेको नराम्रो प्रभाव, उच्छ«खलता र विकृतिकोे जीवन्त चित्रण उनका कथा (खदेम, सेप्माङबा लाम्दिःक्) पाइन्छ । समयको परिवर्तनसँगै मातृभाषा बोल्न छाडेका, जातीय चलन बिर्संदै गएका सामाजिक विचलन उनका कथाको विषय वस्तु हुन् ।

आधुनिकताको नाममा परम्परा, रीतिथिति, संस्कृतिमाथि संकट आइलागेको स्पष्ट छ । गाउँघरमा पनि विकासको नाममा राज्यको अग्रसरतामा बाटाघाटा खन्ने निहुँमा ऐतिहासिक, सांस्कृतिक सम्पदास्थलहरू नष्ट हुँदै छन् । गाउँघरका मौलिक र सांस्कृतिक नाम फेरिँदै छन् । रैथाने पहिचान नष्ट गरिँदै छ । विकासको नाममा वनजंगल मासिंदै र खोलानालामा पानी सुक्दैछन् । पर्यावरण क्षय हुँदैछ । पशुपंछीको विविधता हराउन थालिसकेको छ । यी र यस्ता ज्वलन्त मुद्दाहरू कथाकार पुष्प लोवाले आफ्ना कथाहरूका विषय बनाएर विरोध जनाएका छन् ।

लिम्बू जातिमा विभिन्न तरिकाले बिहे गर्ने चलन थियो । तिनमा घिसार्ने बिहेबारीको चलन पनि एक हो । तर त्यसरी गरिएको बिहेबारीलाई वैधानिक बनाउन भने योःक्थक्वा थिम (चोरको सोर) रीति बुझाउने चलन छ । लिम्बू जातिमा मान्य रहेको यस्तो घिसार्ने बिहेबारीका रीति वा (कु)रीति, प्रथा र चलनलाई कथाकारले विषय बनाई विवेचना गर्दै सुन्दर शैलीमा कथा सृजना गरेका छन् (मिधक्पु लेःम्भे) । त्यसरी नै मृत्युंसंस्कारमा रुने र रोइदिने प्रथालाई पनि कथामा प्रभावशाली ढंगले प्रस्तुत गरेका छन् (केवाफुङ्ले कुघेदा?) ।

कथाको सन्देश
लोवाका कथाहरू राजनीतिक पूट भएका र सांस्कृतिक उभारले पूर्ण सामाजिक कथा हुन् । उनका कथामा वर्तमान सन्दर्भमा लिम्बू जाति र समाजको सांस्कृतिक र सामाजिक जीवन्त चित्रण पाइन्छ ।

सुविधाजनक जीवनका लागि रोजगारी खोज्दै सहर पस्ने लहर चलेको छ । गाउँघर सुनसान भएपछिकोे दूरगामी प्रभाव बिचारेर गाउँमै बस्न फर्केको एक बृद्ध लाहुरेको कथामार्फत (मुत्थुप् याःल्ले कुजेथ्या) कथाकार पुष्प लोवाको कथाले संकटमा परेको इतिहास, भाषा, परम्परा र संस्कृति जोगाउन अभियानका साथै राज्यको विभेदकारी नीतिका विरुद्ध लड्ने सन्देश दिएका छन् ।

त्यसरी नै गाउँले जनजीवनमा घरझगडा हुन्छ नै तर घरगृहस्थी बलियो र आदर्श बनाउनका लागि दाजुभाइमा बेमेल (यमेन्दङ)्ं झैझगडा (खेजेक्), हानथाप हुनु हुँदैन भन्ने सन्देश दिने उनका कथा सन्देशमूलक कथा (लोःक्फा सिङघिम) भएका छन् ।

भाषा, शैली र शिल्प
पुष्प लोवाको कथालेखन शैली सरल तर सुन्दर छ । भाषा मिठो र सरल छ । कथालेखनको शिल्प सुन्दर र सशक्त छ । पुष्प लोवाका अधिकांश कथा प्रथमपुरुष –अर्थात् (मबाट) दृष्टिबन्द्यिुबाट लेखिएका छन् । सुगठित भाषा, सुन्दर शैली र कथा भन्ने सशक्त शिल्पले लोवाका कथा सबैका लागि प्रिय छन् । झन् पढ्दै जाँदा कथाको अन्त्य चिताएको भन्दा अर्कै पाएर पाठकले छक्क पर्नुपर्ने शैलीले (सेप्माङ्बा लाम्दिःक्, खुने होःप्मु अक्खेल्ले, केवाफुङ्ले कुघेदा?) त कथाकारको कथाकारिताको उच्च शिल्पकारिता देखाउँछ ।

लिम्बू कथाकारितामा नयाँ सीमास्तम्भ
आधुनिक लिम्बू साहित्यमा कथा विधामा एउटा नयाँ सीमास्तम्भ (Milestone)का रूपमा पुष्पहाङ लोवाको यो कथा सङ्ग्रह मना लाङयोःक्खा? ठाडो शिर लिएर ठडिएको छ भन्दा बढी कुरा गरेको ठहर्दैन ।