विराटनगर । आज विश्वासको मत लिन लागेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका छन् । स्थायित्व र सहकार्यका लागि मत दिन आग्रह गर्दै उनले सबै दललाई पत्र लेखेका हुन् ।
सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा नियुक्त भएका कार्कीले पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईंको दल समक्ष हार्दिक अनुरोध गर्दछु । साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवंम सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।’
कार्कीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
राप्रपाले भने मतदान अघि निर्णय गर्ने बताएको छ ।