केही समयदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा नयाँ स्वरुपको कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ ।
यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार गएकाे जनवरी ९ तारिखमा एकै दिन दुई हजार ९ सय ९८ जनामा नयाँ सङ्क्रमण देखिएको छ । युरोपेली देशहरूमा देखा परिरहेको कोरोनाको नयाँ स्वरुप पछिल्लो समय यूएईमा पनि देखिएकाले सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो ।
यूएईका स्वास्थ्य निकायका अनुसार पछिल्लो समयमा देखा परेको कोरोनाको नयाँ स्वरुप बढी सङ्क्रामक रहेको छ । यूएई सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन यूएईमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ ।
कोरोना विरुद्धको भ्याक्सिन यूएई सरकारले सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा निःशुल्क रूपमा उपलब्ध छ । साथै यूएईमा रहेका नेपाली नागरिकले पनि ती केन्द्रमा गएर भ्याक्सिन लगाउन सक्ने दूतावासले जनाएकाे छ ।