April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ताप्लेजुङमा अल्लो प्रवद्र्धनको लागि तालिम

1.6K

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले अल्लो प्रवर्द्धन गर्न तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्थानीय स्तरमै प्रशस्त रूपमा पाइने अल्लोको प्रवर्द्धन गर्न धागो बनाउने तालिम सञ्चालन गरेको हो ।

मैवाखोला गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत स्थानीय महिलाहरूको सहभागितामा अल्लोको धागो बनाउने तालिम सञ्चालन गरेको हो । मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुमा अल्लोको धागो बनाउने (उत्पादन गर्ने) आधारभूत सीप सिकाउने गरी आयोजना गरिएको सात दिने तालिम बुधबार सम्पन्न गरेको छ ।

तालिमबाट १० महिलाले अल्लोको धागो बनाउने सीप सिकेका छन् । चालु आर्थिक वर्षभित्र गाउँपालिकाका विभिन्न वडामा गरी २७ जनाले अल्लोको धागो उत्पादन सम्बन्धी तालिम प्राप्त गरेका छन् । स्थानीय महिलालाई सीप सिकाइ उद्यमी सिर्जना गर्ने र उनीहरूलाई आय आर्जनमा जोड्ने गाउँपालिकाले उद्देश्य राखेको पालिकाले जनाएको छ ।

Advertisement

पालिकाका अध्यक्ष विजयप्रकाश वनेमले गाउँपालिकाको विशिष्ट पहिचानको रूपमा अल्लोलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएरसमेत तालिम सञ्चालन गरिएको बताए ।

अध्यक्ष वनेमका अनुसार अल्लोको धागो उत्पादन सम्बन्धी तालिमपछि कपडा उत्पादनको तालिम सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको छ । यता अल्लो धागो उत्पादनको तालिमसँगै सहभागीलाई धागो बनाउने प्रविधि मेसिन (चर्खा) पनि वितरण गरेको गाउँपालिकाले जनाएको छ ।