काठमाडौं । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’ का कार्यक्रम सुरु गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी ’नबिल ग्रीन विक’ अभियानको उद्घाटन गरेका हुन् ।
बैंक कर्पोरेट संचार शाखाका अनुसार बैंकले १५ असारदेखि २१ असारसम्म नबिल ग्रीन विकमा केन्द्रित कार्यक्रम राखेको छ । यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट–पानीपोखरी–महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपीज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरि रहेको बताए । उनले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकोले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरिएको बताए ।
अध्यक्ष पौड्यालले बैंक रणनीतिक रूपमा दिगो व्यवसायमा केन्द्रित रहेको जानकारी गराए । ’हामीले दिगो उपायहरू अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूलाई मद्दत गर्ने परियोजनाहरूलाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँ ’ पौड्यालले भने ।
नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो ।