काठमाडौं । राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ खेलकर्मी सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार खेलाडी, प्रशिक्षक, निर्णायक र खेल चिकित्सकलाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा खेलाडीतर्फ उसुका विश्व बुढामगर र मीना ग्लान, तेक्वान्दोका गीता विष्ट, नीरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबलका रामबहादुर तामाङ रहेका छन्।
यस्तै, प्रशिक्षकमा करातेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा तेक्वान्दोका दीपेन्द्र ढकाल र खेल चिकित्सकमा प्रा.डा. नवीसमान सिंह प्रधान सम्मानित भएका छन् । सम्मानित सबैलाई जनही १ लाखसहित सम्मान गरिएको हो ।
यसैबीच खेलकुद मन्त्रालयले १० जनालाई खेल पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । सेतोपाटीका सीताराम कोइराला खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । उनलाई ५० हजारसहित सम्मान गरिएको थियो ।
प्रदेशतर्फ खेलपत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनेमा बागमती प्रदेशबाट रेडियो कान्तिपुरका सुवास बिडारी, प्रदेश १ बाट कान्तिपुर टेलिभिजनका अर्जुनकुमार सुवेदी, मधेश प्रदेशबाट इकागजका सन्जिवकुमार शाह,
सुदूरपश्चिमबाट अनलाइन सुदूरआजका पूर्णबहादुर खड्का, गण्डकी प्रसेशबाट आदर्श समाजका धनबहादुर गुरुङ, लुम्बिनीबाट आदर्श समाजकै विजय नेपाल, कर्णालीबाट अन्नपूर्णका ललितबहादुर बुढा रहेका छन् ।
यस्तै, पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ कान्तिपुर दैनिकका सुर्खेतकी ज्योति कटुवाल र पोखराका दीपक परियार सम्मानित भएका छन् । उनीहरूले २५ हजारसहित प्रशंसापत्र प्राप्त गरेका छन्।
सम्मान तथा पुरस्कार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले प्रदान गरेका थिए।