काठमाडौं । सगरमाथा आरोही हरिबहादुर बुढामगरलाई काठमाडौंमा स्वागत गरिएको छ । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका उनलाई त्रिभुवन विमानस्थलमा बाजागाजा र विभिन्न संघसंस्थाको व्यानरसहित भव्य स्वागत गरिएको हो ।
पूर्वब्रिटिस गोर्खा सैनिकसमेत रहेका बुढामगरलाई संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, थबाङी समाज, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, नेपाल मगर एसोसिएनलगायतले भव्य स्वागत गरेका हुन् ।
स्वागतका लागि उपस्थित भएका सबैलाई धन्यवाद दिँदै बुढामगरले यो आफू एक्लैले नगरेको बताए । ‘यो म एक्लैले गरेर भएको हैन । यसमा मेरो टीम छ । वहाँहरुले आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथा चढाउनुभएको छ’, उनले भने ।
उनले नेपाल सरकार र विश्वको जुनसुकै ठाउँमा रहेर सहयोगी भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिए । उनले भने, ‘तपाइँहरुको साथ, सहयोग, आशिर्वाद नभएको भए यो सम्भव हुने थिएन । सबैलाई धन्यवाद ।’
यसैगरी मन्त्री सुदन किरातीले उनलाई सम्मान गर्ने शब्द नभएको बताए । ‘वहाँलाई सम्मान गर्ने शब्दकोशको जन्म भएको छैन, म नतमस्तक छु । भावुक छु । विश्वको शिखर सगरमाथाबाट हरि बुढामगरमात्र हैन, नेपाल र नेपाली जनताको तर्फबाट विश्व मानव समुदायमा वहाँले एउटा नयाँ सन्देश दिएर आउनुभएको छ ।’, मन्त्री किरातीले भने ।
बुढामगर चैत २२ गते सगरमाथा आरोहणका लागि काठमाडौँबाट आधार शिविरतर्फ लागेका थिए । उनले जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेका हुन् । यससँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका छन् । पर्यटन विभागका अनुसार घुँडामुनि खुट्टा नभएका भने उनी तेस्रो आरोही हुन् । यसअघि चिनियाँ पर्वतारोही सिया बोयू र न्युजिल्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका थिए ।
तत्कालीन रोल्पा निरुल गाविस हालको थवाङ गाउँपालिकामा जन्मिउक्ँ बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए । उनले सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए ।
स्की, कायाकिङ, ह्वीलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटि फुलबल, सिटिङ भलिबल लगायतका विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलिसकेका उनी कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने र आधार शिविरबाट ‘स्काई ड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन् । उनले चार जना सहयोगीको मद्दतमा आरोहण पूरा गरेका हुन् ।
बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण पुरा गरिसकेका छन् ।उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा भएको हो। यसअघि पनि उनी सगरमाथाको आधार शिविरसम्म पुगिसकेका छन्।