April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दिगो विकासको लक्ष्यसहित साकेला गाउँपालिकाले आवधिक योजना निर्माण गर्दै

2.2K

इटहरी । आगामी ५ वर्षभित्र समृद्ध गाउँपालिका बनाउने लक्ष्यका साथ आवधिक योजना निर्माणमा जुटेको खोटाङको साकेला गाउँपालिकाले शनिबार काठमाडौमा उपत्यकामा रहेका विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम गरी सुझाव संकलन गरेको छ । निर्माण हुन लागेको आवधिक योजनाले कस्ता विषयवस्तुलाई प्राथमिकता दिँदा गाउँपालिकाको दिगो विकास लक्ष्य हाँसिल गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सुझाव संकलन गरिएको हो ।

चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार आवधिक योजना निर्माणमा जुटेको पालिकाले गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षता तथा महालेखा परीक्षक टंकमणी शर्माको प्रमुख आथित्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

आवधिक योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महालेखा परीक्षक टंकमणी शर्माले साकेला गाउँपालिकाले निर्माण गर्न लागेको आवधिक योजनाले दिगो विकास लक्ष्यको ढोका खोल्ने बताउनुभयो । लामो समयसम्म पनि गाउँको अवस्थामा परिवर्तन नभएको बताउँदै उहाँले आवधिक योजनाले गाउँको विकासको खाका कोर्नेमा आफू विश्वस्त भएको र आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । शर्माले आवधिक योजनाबारे गाउँपालिकाले राय सुझाव संकलनका लागि राजधानीमा आयोजना गरेको कार्यक्रम देशकै नमूना भएको बताउँदै अध्यक्ष सहित सिंगो गाउँपालिका टिमलाई शर्माले धन्यवाद ज्ञापन गरे ।

Advertisement

कार्यक्रमका विशिष्ट अतिथिको रुपमा बोल्नुहुँदै प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले आवधिक योजनाले साकेलाको समृद्धिको ढोका खोल्ने बताए । आवधिक योजना स्थानीय जनभावना अनुसारका विकास योजनालाई प्राथमिकता राखी निर्माण गर्न समेत राईले सुझाव दिए । साथै राईले भने ’देश विकासका लागि हामी शब्दमा मात्र व्यक्त गर्छौं तर व्यवहारमा कहिल्यै उतार्दैनौ, अब काम गर्ने समय आएको छ, गाउँपालिकाले निर्माण गर्न लागेको यो आवधिक योजनालाई हामी सबै मिलेर पूर्णता दिनुपर्छ’ ।

त्यस्तै विशिष्ट अतिथि पूर्व सचिव सागर कुमार राईले आवधिक योजनामा भौतिक पूर्वाधार सँगै कृषि र पर्यटनलाई प्राथमिकतामा राखी निर्माण गर्न सुझाव दिए । आवधिक योजनालाई टेकेर पालिकाको थप विकास प्रकृया अघि बढ्ने बताउँदै राईले साकेलाको गौरवको योजनाको रुपमा तावाताललाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । साकेलाको आन्तरिक आयको प्रमुख सम्भावना बोकेको तावाताल लगायतका अन्य पर्यटकीय विकासका पूर्वाधार निर्माण गर्न राईको सुझाव थियो ।

आवधिक योजना निर्माणबारे विस्तृत भनाई राख्दै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले निर्माण हुन लागेको आवधिक योजनामा आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपद, संस्थागत विकास तथा सुशासनक्षेत्रको चौतर्फी विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाको खाका तय गरिने बताए ।

आवधिक योजना बनाउन गाउँपालिकाले विगतको अनुभव र वर्तमानको बस्तुस्थितिको सुक्ष्म विश्लेषण गरी हिजो भए गरेका अभ्यास र त्यसबाट प्राप्त अनुभव तथा बर्तमानको धरातलीय यथार्थतालाई टेकेर भविष्यमा के गर्दा पालिकालाई दिगो विकास र समृद्धितर्फ लान सकिन्छ भन्ने कुराको गहिरो ढंगले अध्ययन गर्दै आवधिक योजना निर्माण गरिने अध्यक्ष राईले बताए ।

आवधिक योजना प्रभावकारी र दीर्घकालीन महत्वको बनाउन साकेलामा जन्मेर राज्यको विभिन्न तह र तप्कामा क्रियासिल विशिष्ट व्यक्तित्वहरुबीच अन्तरक्रिया चलाईएको हो । सबै क्षेत्र र तहतप्काको अनुभव र ज्ञानलाई समेटेर गाउँपालिकाको भविष्य उज्वल बनाउन यस्तो गरिएको अध्यक्ष राईले बताए ।