सिन्धुली – सिन्धुलीमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको छ। कमलामाई नगरपालिका–६ की ८३ वर्षीया महिलाको उपचारका क्रममा आइतबार साँझ सिन्धुली अस्पतालमा मृत्यु भएको हो।
महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि परिवारले शुक्रबार उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पतालमा लगेका थिए। अस्पतालले कोभिड परीक्षणका लागि स्वाब संकलन गरी उपचार सम्भव नहुने भन्दै बिरामीलाई घर फिर्ता पठाएको थियो। धुलिखेलबाट फर्काइएको बिरामीलाई शनिबार राति १० बजे सिन्धुली अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो। उपचारका क्रममा रहेकी उनको मृत्यु हुनुभन्दा दई घण्टा अगाडि कोरोना संक्रमण भएको पुष्टि भएको हो।
अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि सिन्धुली अस्पतालको इमर्जेन्सी कक्षबाट दिइने सेवा दिइने बन्द गरिएको छ। निर्मलीकरणका लागि सोमबार बिहानसम्म सेवा नदिइने सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए। मृतक महिलाको शव नेपाली सेनाको वर्द बहादुर गणले कमलामाई नगरपालिका–७ को बुका पुल नजिकै व्यवस्थापन गरेको छ।