पछिल्लो समय सहकारी संस्थाहरु धमाधम डुबिरहेका छन् । सहकारीमा सदस्यहरुको वचत तथा लगानी सुरक्षित छैन । केहीदिन अघि मात्रै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीकोसमेत गरी १४ करोड रुपैयाँ कुम्ल्याएर भागेको समाचार बाहिरिएको थियो । यो एक उदाहरण मात्रै हो, अचेल हरेकदिन जसो यस्ता समाचारहरु आउने गर्छन् । नियमनकारी निकायको कमजोर नियमनका कारण सहकारीले यसको फाईदा लुटेको देखिन्छ ।
बुटवलका सहकारीहरू पनि धमाधम डुब्दै गईरहेका छन् । जसमध्ये एक हो ‘सप्तदीप बहुउद्देश्यीय सहकारी संस्था’ । यस सहकारीले अहिले कार्यलयमा ताला लगाएको छ । यस सहकारीका बचतकर्ताहरु भने आत्तिन थालेका छन् । ‘अवधि खाता खोलेर दैनिक बचत गर्दै आईरहेको थिए । एकाएक बचत उठाउन आउन छोडेपछि शंका लाग्यो । सहकारीको फेसबुक पेज पनि बन्द गरिसकेका रहेछन् । पासबुकमा रहेको नम्बरमा सम्पर्क गर्दा अर्कै सहकारीले उठायो । कार्यालय पुग्दा तीनवटा ताला लगाएको थियो ।’, एक पीडितले भने ।
यसरी सहकारी संस्थाको कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको यस सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा बुटवल ११ बुद्धनगरमा बसोबास गर्ने सरिता बिकको लगभग १ लाख बचत रहेको थियो । श्रीमानले अटो रिक्सा चलाएर कमाएको पैसा अवधि खातामा राखेकी थिईन् । अवधि सकिन एक महिना बाकि हुँदा सहकारी बन्द भयो । अब त्यो पैसा पाउने आशा मारिसकेको बताउँछिन् । ‘छोराछोरीको स्कुल भर्ना, किताब, पोशाकहरू किन्न भनेर बचत गरेकी थिएँ, पैसा समयमा नपाउँदा ठूलो समस्यामा परेँ ।, अब पैसा पाइने आश पनि मरिसक्यो ।’, उनले आफ्नो पीडा सुनाइन् ।
सेवाग्राहीहरूले कार्यालय घेराउ गर्न थालेपछि यस सहकारीले सदस्यहरूलाई पालैपालो रकम फिर्ता दिने भन्दै टोकन बाँडेको थियो । तर, टोकनमा तोकिएको मितिका दिन कार्यालय जाँदा कार्यलय नै बन्द अवस्थामा रहेको पाएपछि सेवाग्राहीहरू आक्रोशित बन्न थालेका छन् ।
यसरी सहकारीहरू डुबेर धमाधम भाग्न थालेपछि संचालनमा रहेका सहकारीहरूमा नकारात्मक प्रभाव परिरहेको छ । ‘अरू सहकारी डुबेको हल्लाले बचतकर्ताहरूले धमाधम पैसा निकाल्न थालेपछि चलिरहेको सहकारी पनि डुब्ने अवस्थामा पुग्ने देखिन्छ ।’, मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्थाकी कर्मचारीले गुनासो गरिन् ।
सहकारी डुब्दै जाने धेरैका कारणहरु छन् । सहकारीमा सदस्य बढाउन बिना धितो ऋण दिँदा सहकारीहरूमा समस्या उत्पन्न भएको एक सहकारी कर्मचारीले बताइन् । ‘सेवाग्राहीलाई आकर्षित गर्न बिना धितो ऋण दिएपछि उनीहरूले समयमा किस्ता र ब्याज नतिर्दा सहकारी चल्न गाह्रो हुन्छ ।’, नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाकी कर्मचारी बताउछिन् । यस्तै, कोभिडपछि सहकारीहरूले धितो राखेर बैंकहरूले भन्दा बढी पैसा दिएपछि ठूलाठूला व्यापारीले पैसा लिएर नतिरेपछि सहकारीमा असर पुगेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी बताउछिन् ।
आर्थिक मन्दीका कारण व्यापारव्यवसाय ठप्प भएपछि ऋण तिर्न नसकेर सहकारीले धितोमा राखेका घर जग्गाहरू कालोसूचीमा राख्न थालेका छन् । समस्याग्रस्त सहकारीहरूले घरजग्गा लिलामी गरेर सेवाग्राहीको पैसा फिर्ता दिने बाचा गरेता पनि घरजग्गा कारोबारमा पनि ठप्प भएका कारण अहिले समस्यामाथि समस्या थपिदै गइरहेको छ । एक पीडितले भनिन्, ‘आर्थिक संकट परिरहेको छ । घर व्यवहार धान्नै मुस्किल परिरहेको छ । यस्तै अवस्था रहिरहने हो भने बाँच्न मुस्किल हुनेछ ।’