काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गर्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा जम्मा भएको रुपैयाँ लगानी गरि रोजगारी सिर्जना गर्न माग गरेका हुन् ।
उनले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका उद्योगहरुमा परिचालन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । खुशीको कुरा हो । ५५ खर्ब रकम भनेको नेपाल सरकारले औसत ३ पटक प्रस्तुत गर्ने बराबरको बजेट हो । त्यो रकम बैंकमा जम्मा भएर बसेको छ । त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, आफ्ना ठ्यारोमा परेका उद्योगहरुलाई परिचालन गरी रोजगार सिर्जना गर्नेगरी प्रधानमन्त्रीले गरेका घोषणा अनुसार अगाडी बढाइयोस् ।’
यस्तै, सांसद पौडेलले यस वर्ष विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालहरुमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताए ।