सधैं व्यस्त रहने रुपन्देही जिल्लाको मुख्य सहर बुटवलको व्यापारिक केन्द्रहरू आजकल सुनसान छन् । उद्योग, व्यापार, व्यवसाय, राजनीतिक सबैको केन्द्र हो बुटवल । नेपालका ठूला शहरमध्येको एक सहर बुटवल बजार आर्थिक मन्दीका कारण सुुस्ताउंदै गएको हो । बुटवल पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, अर्घाखांची, प्यूठान, रोल्पा, नवलपरासी, कपिलवस्तु र दाङको व्यापारिक केन्द्र हो । तर, पछिल्लो केही महिनादेखि सुस्ताएको छ । पहाडी र केही तराईका जिल्लाबाट बुटवल बजार भर्न आउने व्यवसायी पनि अहिले गाउँगाउँमा बजार विस्तार भएपछि आउन छोडेकाले पनि बुटवल सुनसान हुंदै गएको हो ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो बुटवल । नुनदेखि सुनसम्मको व्यापार हुने यस बजार कोभिड महामारीअघिसम्म राम्रै थियो । कोभिडबा देशले मुक्त पाए पनि आर्थिक मन्दी बढ्दै जाँदा अहिले बुटवल बजार सुनसान बन्दै गएको हो ।
मुख्य बजारकै सटर खाली छन् ।
कुनैबेला भरिभराउ भएको ‘सिंह कम्प्लेक्स’का धेरै सटर अहिले खाली छन् । एकपछि अर्को व्यवसायीले व्यवसाय बन्द गरेपछि अहिले कम्प्लेक्स बाहिर ‘सटर भाडामा’ भन्ने ब्यानर झुन्ड्याइएको देखिन्छ । बुटवलमा रहेका एक दर्जन बढी व्यापारिक कम्प्लेक्सको अवस्था यस्तै छ । बुटवलको मध्यभागमा पर्ने अमरपथ, विकास पथ, वीपी चोक, ट्राफिक चोकलगायत क्षेत्रका कतिपय व्यवसाय चलिरहेका सटरहरु खाली हुंदै गएका छन् । महङ्गो घर भाडा र खस्कँदो व्यवसायका कारण धमाधम व्यापारीहरु विस्थापित हुन थालेपछि पछिल्लो समय बुटवलको मुख्य बजार अमरपथ लाईनमा मात्रै २ दर्जन बढी सटर खाली भइसकेका छन् ।
विशेष बुटवलका सटरहरू खाली हुने बित्तिकै भाडादर बढ्नाले पनि व्यवसायीहरू मर्कामा पर्ने गरेको पाइएको छ । विश्न नै आर्थिक मन्दीमा गुज्रिरहेका बेला राज्यले व्यवसायीको समस्या नबुझेकाले घरधनी र बैंकहरुको मनोमानीका कारण व्यवसाय चौपट भैसकेको व्यवसायीहरुको गुनासो छ ।
पश्चिम क्षेत्रको मुख्य बजार बुटवलमा अहिले पनि पश्चिम पहाड र तराईका बासिन्दा किनमेल गर्न आउने र सामान ढुवानी गर्ने गर्छन् । यद्यपि दैनिक करोडौं कारोबार हुने बुटवलको व्यापार कोभिड महामारी सुरु भएपछि नै घट्दै गएको हो । त्यसपछि विस्तारै लयमा फर्कन खोजेको व्यापार आर्थिक मन्दी बढ्दै जादा बैंकको चर्को ब्याज तिर्न नसकेर बन्द भएका हुन् । यसरी भाडामा दिनकै लागि बैंकबाट ऋण लिएर घर बनाएका घरधनीहरुको घर खाली हुँदा ठुलो समस्या उत्पन्न भएको एक घरधनीहरू बताउछन् ।
प्रत्येक हप्ता शनिबार र बुधबार हाटबजार लाग्ने हुनाले अत्यन्तै भिडभाड हुने सो हाटबजारमा आजकल सुनसान देखिन्छन् । ग्राहकको प्रतिक्षामा बसेका व्यवसायीहरू निराश देखिन्छन् । आर्थिक संकट खेपिरहेका उपभोक्ताहरूले तरकारीको भाउ महँगो भएको कारण किन्नसमेत छोडेको व्यवसायीहरू बताउछन् । उनीहरु व्यापार नहुँदा बैंकको ब्याज र सटर भाडा तिर्नसमेत नसकेको दुखेसो पोख्छन् ।
लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सारिएको कारण बुटवल सुनसान हुन पुगेको अनुमान पनि गरिन्छ । केही मात्रमा त्यसको असर पनि हो । तर, देशैभर आर्थिक संकट परिरहेको अवस्था छ भने बुटवलको राजमार्ग क्षेत्रमा सडक विस्तारको काम अलपत्र पारिनुले पनि बुटवल बजारको व्यापार खस्किएको हो ।
धमाधम व्यापारीहरु विस्थापित हुन थालेपछि मुख्य बजार क्षेत्रका घरधनी मृगेन्द्र कुमार शेरचनले घरबहालमा १५ देखि २० प्रतिसत छुट दिएर व्यापारीहरुको विस्थापन रोक्ने सुरुवात गरेका छन् । आर्थिक मन्दीका कारण व्यवसायीहरु मारमा परिरहेको बेला शेरचनले आफनो घरको सम्पूर्ण सटरभाडामा व्यवसाय गर्ने व्यवसायीहरुलाई १५ देखि २० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । यसले केही व्यवसायीहरूलाई राहत पुगेको छ ।
यसरी बुटवलका सबै घरधनीहरूले व्यवसायीहरूको अवस्थालाई मध्यनजर गरेर सटरभाडामा छुट दिए व्यवसायीहरूलाई सहज हुनेछ । त्यसैगरी राज्यले बैंक ब्याजलाई सहजीकरण गरी स्वदेशी बजार बचाउने नीति नल्याउने हो भने बुटवल बजारका व्यवसायी पलायन हुने अवस्था आउने छ ।




