March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

चर्चा बटुल्न हैन, अधुरा सपना पुरा गर्न गीतसंगीतको क्षेत्रमा आएको हुँः वाङ्दी शेर्पा

सीता तुम्खेवा
२०७९ चैत्र २७

4.8K

भोजपुरमा जन्मिएका गीतकार तथा गायक वाङ्दी शेर्पा हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्छन् । उनी सन् २००० मा अमेरिका पुगेका हुन् । भोजपुर, धरान, काठमाडौं हुँदै अमेरिका पुगेका शेर्पा समाजसेवी पनि हुन् । तर, समाजसेवाको पाटोलाई भने उनी खासै चर्चा गर्न चाहँदैनन् । भन्छन्, ‘समाजसेवा मन र भावनाबाट गरिन्छ, जसलाई चर्चामा ल्याउनै पर्छ भन्ने जरुरी छैन ।’

शेर्पा गरिब दुखीहरूको सेवा गर्न पाउँदा आनन्द महसुस गर्ने बताउछन् । उनी भन्छन्, ‘स्नेही काखमा सहयोग गरिरहेको छु । व्यक्तिगत सहयोगबाट बच्चाहरू पढाइराखेको पनि छु । परिस्थिति र आफ्नो कमाइअनुसार कति सकिन्छ, त्यति सहयोग गर्दै आइरहेको छु ।’

न्युयोर्कको शेर्पा समुदायको विभिन्न संघसंस्थामा आवद्ध छन् शेर्पा । ती संघसंस्थाहरुले पनि पेन्डामिकको बेला खाद्यान्न वितरण गर्ने, विपद्मा परेकाहरुलाई सहयोग गर्ने, धार्मिक पूजा गर्ने लगायतको काम गर्दै आएका छन् ।

Advertisement

केही समयको बिदामा मातृभूमि नेपाल आएका शेर्पा नयाँ गीत बजारमा ल्याउने तरखरमा छन् । उनका शब्द÷स्वर र अशोक मुकारुङको संगीत रहेको गीत ‘भोजपुर बजार’ नेपाली नयाँ बर्षको अवसर पारेर बैशाख १ गते दर्शक तथा स्रोतामाझ सार्वजनिक गर्न लागिएको छ । शेर्पाको यसअघि ‘धेरै चोटी तिम्रो यादमा’ बोलको गीत सर्वाजनिक भएको छ । ‘यो एक पूर्वेली भाकामा आधारित गीत हो । म आफ्नो देशलाई प्रेम गर्ने मान्छे । आफ्नै थात्थलोलाई समेटर गीत लेखेँ, र गाएँ ।’, उनले नेपाल मामिलासँगको कुराकानीमा भने, ‘यश गीत गाउन पाउँदा एकदम खुशी लागेको छ ।’

गायक बन्ने सपना बोकेर हुर्किएका शेर्पाले व्यवहारिक परिबन्ध र समयको अभावका कारण सपनालाई साकार बनाउन लामो समय कुर्नुपर्‍यो । उनी न्यूयोर्कमा काम गरिरहँदा सधैं गुनगुनाउने गर्थे । सुन्ने साथीहरुले ‘तिम्रो स्वर राम्रो छ, गीत रेकर्ड गर’, भन्ने गरेको स्मरण गर्छन् । चर्चा बटुल्न भन्दा पनि आफ्नो अधुरै रहेको सपना साकार बनाउन यी गीतहरु ल्याएको उनको स्पष्टिकरण छ । ‘गायक बन्ने चाहाना सानैदेखिको हो । समयको अभाव र विभिन्न बाध्यात्मक परिस्थितिका कारण यस क्षेत्रमा लाग्न सकिनँ । अहिले बच्चाहरू हुर्किए, फुर्सद समय निस्कियो, त्यसैले सुरुवात गरेको हुँ । यस गीतले दर्शक तथा स्रोताको मन जित्ला/नजित्ला त्यो दर्शकको कुरा भयो, तर मैले आफ्नो सपना पुरा गर्ने कोसिस गरेको छु ।’, उनले भने ।

भविष्यमा आफ्नै गीतहरुको संकलन स्वरूप एल्बम तयार पार्ने उनको योजना रहेको छ । प्रायः प्रेमिल गीत रचना गर्न र गाउन रुचाउने उनले फेरी पनि यस्तै प्रेममा आधारित गीतहरु नै दर्शक तथा पाठकमाझ ल्याउने बताए । ‘अहिले एल्बमको समय छैन, यद्यपी म आफ्नै गीतहरुको संकलन स्वरुप केही गीतिएल्वमहरू ल्याउने छु । ती गीतहरु पनि संभवत प्रेममा आधारित नै हुनेछन् ।’, उनले भने । शेर्पाका परिवारमा दुई छोरी र श्रीमती छन् । आफ्नो परिवारले पनि नेपाली गीतसंगीतलाई मन पराउने/माया गर्ने उनको भनाइ छ ।

यस्तो छ, गीतकार तथा गायक शेर्पासँग नेपाल मामिलाका लागि गरिएको कुराकानीः