April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘कोशी’नामकरण विवाद: के प्रधानमन्त्री नाटकीय भूमिकामा छन् ?

1.3K

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष विहीबार ज्ञापनपत्र पेस गरे ।

किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएका हुन् । प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री समक्ष अनुरोध पनि गरेका थिए । यो ज्ञापन माओवादी केन्द्रकै योजना रहेको बुझिएको छ । किनकि माओवादी केन्द्रको पछिल्लो समय प्रदेश नामाकरणका सवालमा बोली फेरिएको छ ।

Advertisement

पूर्वमा पहिचानको आन्दोलन चर्किदै गएपछि माओवादी केन्द्रले आन्दोलनलाई आफ्नो समर्थन रहेको बताएर दोधारे नीति लिन भ्याएको छ । प्रदेश सरकारले नाम तय गर्ने बेलामा चुपचाप समर्थन गरी संसदबाट नाम पास गरेपछि गल्ती भयो भन्दै अहिले दोधारे नीति लिएको हो ।

माघको पहिलो साता नै माओवादीको समर्थन कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले त्यसको प्रकृया अघि बढाएका थिए । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले यो विषयमा चाँडै नै प्रदेशको नामकरण टुंगो लगाउनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा गरिसकेका थिए । त्यसै अनुसार प्रदेशका नेताहरुले यसलाई संसदमा लगेर कोशी नामकरण गरिदिए ।

तर प्रचण्डले आफूहरु अहिले पनि पहिचानकै पक्षमा रहेको बताएर आफ्नो दोधारे व्यवहारलाई ढाकछोप गरिरहेका छन् । बुधबार अपरान्ह पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका उनले कोशी प्रदेश नाम राख्दा गल्ती हुन पुगेको र अब सच्याउने बताएर आन्दोलनलाई शिथिल बनाउन खोजेको आन्दोलनकारीहरुको बुझाइ छ ।

पूर्व १ नम्बर प्रदेशमा नामकरणको विषयमा हामी पहिचानको अडानमै छौँ भन्दै उनले बैठकमा ब्रिफिङ गरेका थिए । ‘त्यो प्रदेशमा रहनु भएका साथीहरुबाट कोशी नाममा निर्णय गर्ने बेला अडान लिन सक्नु भएन,’ उनको समर्थनलाई प्रदेशका साथीहरुलाई दोष दिएर आफू जोगिन खोजेको बैठकमा सहभागी एक नेताले भने ।

अहिले पनि माओवादी पहिचानको मुद्दाबाट तलमाथि नहुने बताएर बैठकमा अन्योल सिर्जना गरिदिएका थिए । ‘तर म तपाईंहरुलाई के विश्वस्त गराउन चाहन्छु भने हाम्रो पार्टी अहिले पनि पहिचानको मुद्दाबाट तलमाथि हुँदैन र हुने छैन’, उनले त्यस क्रममा भने ।

गत फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश जुराउँदा प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो । ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा मत विभाजनका क्रममा दुई तिहाइका लागि ६२ मत आवश्यक रहेकोमा प्रस्तावको पक्षमा सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा विपक्षमा नेकपा एकीकृत समाजवादीका चार सदस्यले मतदान गरेका थिए ।

पहिचान पक्षधरहरुले किराँतसहितका नाम अघि सारेर आन्दोलन चर्काइरहेका बेला प्रचण्डले उनीहरुलाई आफ्नो पक्षमा पार्न यस्तो नाटक गरेको आन्दोलनकारीको दाबी छ । कोशीले पहिचान पक्षधहरुको भावनामा ठेस पुगेको भन्दै एक महिनादेखि लगातार आन्दोलन चलिरहेको छ । माओवादीले जनयुद्धदेखि नै जातीय पहिचानसहितको पक्षमा आफूलाई उभ्याउँदै आएको थियो । ‘प्रदेशका नाममा माओवादी सबै ठाउँ चुकेको छ तर पनि पहिचानको पक्षमा रहेको अध्यक्षले बैठकमा ब्रिफिङ गर्नुभयो’, बैठकमा सहभागी एक नेताले भने ।