काठमाडौं– ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। २०७१ साल चैतमा उत्पादन शुरु गर्ने लक्ष्य राखेर निर्माण शुरु भएको यो आयोजना बारम्बार भाका सार्दै ६ वर्ष पर धकेलिएर सम्पन्न हुने चरणमा पुगेको हो।
अपर तामाकोशी हाईड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विज्ञान प्रसाद श्रेष्ठ अबको २ महिनाभित्रमा आयोजनाको सिभिलतर्फको सबै काम सकेर उत्पादन शुरु हुने बताउँछन्। ‘९९ प्रतिशत बनिसक्यो। बत्ती बाल्नै लागेको बेलामा रोकिएको हो। फागुनको मध्यतिर टेस्टिङ र कमिसनिङका काम शुरु हुन्छन्। यो आर्थिक वर्षको अन्तसम्ममा त आयोजनाका सबै युनिटहरु संचालनमा आईसक्छन्‚’ सिईओ श्रेष्ठले भने।
आयोजनालाई गत आर्थिक वर्षभित्रमा नै संचालन गर्ने लक्ष्यमा मुख्यगरी कोभिड १९ महामारी र हाईड्रोमेकानिकलतर्फ ठेक्का पाएको भारतीय ठेकेदार कम्पनीको कमजोरी बाधक बनेको सिईओ श्रेष्ठ बताउँछन्। ‘ठेक्कासँग सम्बन्धित मालबस्तुको ढुवानीमा समस्या भयो। ठेकेदारले महत्वपूर्ण सामान आपूर्ति गर्न सकेन। तर अहिले अर्को कम्पनीमार्फत काम गरिरहेका छौं‚’ उनले भने। आयोजनामा हाइड्रोमेकानिकल तर्फको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको इन्जिनियरिङ एण्ड रेल्वे कम्पनीले अन्तिम अवस्थामा काम गर्न नसक्ने भन्दै ढिलाइ गरेको थियो। पेनस्टक पाइप जडानका लागि आवश्यक सामग्री ढुवानी नभएपछि अहिले त्यो काम अस्ट्रेलियन कम्पनी एन्ड्रिज हाइड्रोले गरिरहेको छ।
आयोजनाको भर्टिकल पेनस्टक जडानको कामलाई पहिलेको भन्दा केहि परिवर्तन गरेर आयोजना संचालनमा ल्याउन लागिएको श्रेष्ठ बताउँछन्। ‘पेनस्टक पाइप जडानमा पहिलेको ढाँचामा केही परिवर्तन गरेर जतिसक्दो चाँडो काम सकाउनतर्फ लागेका छौं। फेब्रुअरी भित्रमा सिभिलतर्फको काम सकिन्छ। त्यसपछि उत्पादनको चरणमा जान्छ‚’ उनले भने‚ ‘अब जतिसक्दो चाँडो आयोजना संचालनमा ल्याएर राजस्व संकलन गर्नेतर्फ ध्यान दिनु छ। ‘टाईम ओभर रन’ ‘कस्ट ओभर रन’ भयो भन्नुको अर्थ छैन।’
आगामी फागुन मध्यतिर संरचना निर्माणका काम सक्ने, एक महिना जति टेस्टिङ र कमिसनिङको काम भएपछि बत्ती बल्न थाल्छ। आयोजनाका सबै युनिटहरु संचालन भएर पूर्ण रुपमा संचालनमा आएको अवस्थामा पुग्न भने असार सम्मको समय लाग्नेछ।