April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उद्योग वाणिज्य महासंघमा चुनावी दौडधुप, व्यापक देखियो राजनीतिक प्रभाव

1.2K

काठमाडौं । उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघभित्र चुनावी रौनक छ । आसन्न साधारण सभामा त्रिपक्षीय भिडन्त हुने भएको छ । चैत २८ र २९ गते हुने महासंघको ५७औं साधारण सभामा तीनवटा समूह निर्वाचनमा उत्रिएकाले त्रिपक्षीय भिडन्त हुन लागेको हो ।

उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष र तीनवटा विषयगत उपाध्यक्षसहित करिब ७० पदमा निर्वाचन हुनेछ ।

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहलाई प्रतिपक्षी दल नेकपा एमालेको निकट देखिन्छ भने रामचन्द्र संघईलाई सत्ताको मुख्यघटक नेपाली कांग्रेस त्यो पनि संस्थापन पक्षको ‘ग्रिन सिग्नल’ रहेको छ ।

Advertisement

त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्को प्रत्यासी अञ्जन श्रेष्ठलाई नेपाली कांग्रेसको संस्थापन इतरपक्षको सहानुभूति रहेको स्रोतको दाबी छ ।उता नेपाली कांग्रेसको स्थापन पक्षको ‘ग्रिन सिग्नल’ पाएको भनिएका रामचन्द्र संघईको उम्मेदवारी घोषणा सभामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका व्यक्तिहरूसमेत सहभागी थिए । उक्त सहभागितासहित केही जिल्लाका प्रतिनिधिले खुलेरै देउवा समूहको सन्देश प्राप्त भएकोे कार्यक्रममा सार्वजनिक गरिरहेका थिए ।

आफ्नो उम्मेदवारीलाई व्यापक प्रचार गर्दै आए पनि अञ्जन श्रेष्ठले प्यानल घोषणा गरिसकेका छैनन् । यसअघि संघई आइतबार र उमेशलाल श्रेष्ठले सोमबार प्यानल घोषणा गरेक थिए । श्रेष्ठको समूहबाट एसोसिएटतर्फको उपाध्यक्षको उम्मेदवारका रूपमा प्रचार गरिएकी ज्योत्सना श्रेष्ठले अन्तिम समयमा संघई समूहबाट उम्मेदवारीको घोषणा गरेपछि सो समूहको प्यानल घोषणामा ढिलाइ भएकोे स्रोतले जनायो ।

महासंघमा जिल्ला तथा नगरबाट १ सय ७७ जना, वस्तुगतबाट १ सय २३, एसोसिएटबाट १ हजार १ सय ४७ र दुई राष्ट्रिय संस्थाका १३ मतदाता रहेका छन्।वरिष्ठ उपाध्यक्ष पदमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेको दोस्रोपटक निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष र एसोसिएट उपाध्यक्षबाहेक महासंघको विधानअनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएटबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिने छन्। अहिलेसम्म उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फ भरतराज आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, संघई समूहबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरजकृष्ण श्रेष्ठ, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। अञ्जन श्रेष्ठको प्यानलबाट समूहबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगततर्फ मनिषलाल प्रधान र एसोसिएटतर्फ प्रज्वलजंग पाण्डेले उम्मेदवारी दिने तयारी छ ।